लोड हुँदैछ...

मेनु

आफ्ना नागरिकलाई तत्काल इराक छाड्न अमेरिकाको आग्रह

आफ्ना नागरिकलाई तत्काल इराक छाड्न अमेरिकाको आग्रह

काठमाडौं । इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई तत्काल इराक छोड्न निर्देशन दिएको छ। शनिबार बिहान दूतावास भवनलाई लक्षित गरी मिसाइल प्रहार भएपछि सुरक्षा स्थितिलाई मध्यनजर गर्दै दूतावासले यस्तो चेतावनी जारी गरेको हो।

आक्रमणपछि दूतावासले सामाजिक सञ्जाल (एक्स) ट्विटर मार्फत एक विज्ञप्ति जारी गर्दै इराकमा रहेका वा त्यहाँ जाने सोच बनाइरहेका आफ्ना नागरिकहरूलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ। दूतावासका अनुसार इरान र उसलाई सहयोग गर्ने लडाकू समूहहरू (मिलिसिया)का कारण इराकमा सार्वजनिक सुरक्षामा गम्भीर खतरा उत्पन्न भएको छ।

‘इरान र उसका सहयोगी आतंकवादी मिलिसियाहरूले इराकमा सार्वजनिक सुरक्षाका लागि ठूलो खतरा खडा गरेका छन्। अमेरिकी नागरिक, अमेरिकी हित र महत्त्वपूर्ण पूर्वाधारहरू विरुद्ध लगातार आक्रमणहरू भइरहेका छन्,’दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ।

शनिबार बिहान भएको आक्रमणपछि सार्वजनिक भएका भिडियोहरूमा दूतावास परिसरबाट बाक्लो धुवाँ उठिरहेको देखिएको छ। दूतावासले इराकको हवाई क्षेत्रमा रकेट, ड्रोन र मोर्टारको निरन्तर जोखिम रहेको भन्दै बगदादस्थित दूतावास वा अर्बिलस्थित महावाणिज्य दूतावासमा आउने प्रयास नगर्न समेत आफ्ना नागरिकहरूलाई सचेत गराएको छ।

पछिल्लो समय मध्यपूर्वमा बढ्दो तनावका बीच अमेरिकी नियोग र सैन्य आधार शिविरहरूमाथि आक्रमणका घटनाहरू तीव्र भएका छन्। यसअघि पनि इरान समर्थित समूहहरूले अमेरिकी उपस्थितिप्रति विरोध जनाउँदै विभिन्न समयमा आक्रमण गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।