जनकपुर । धनुषा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किसोरी साहको उम्मेदवारीसम्बन्धी मुद्दामा शुक्रबार पनि सुनुवाइ हुन सकेन।
न्यायाधीश शारङ्गा सुवेदीले मुद्दा नहेर्ने भएपछि यस दिन पनि निर्णय हुन नसकेको हो।
शुक्रबार उक्त मुद्दा न्यायाधीश सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा पहिलो नम्बरमै पेसी तोकिएको थियो। तर, न्यायाधीश सुवेदीले नहेर्ने भएपछि अब उनीबाहेकको इजलासबाट मात्रै साहको उम्मेदवारीबारे टुंगो लाग्ने भएको छ।
कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको भन्दै निर्वाचन आयोगले फागुन १९ गते साहको उम्मेदवारी खारेज गरेको थियो। त्यसविरुद्ध उनी सर्वोच्च अदालत पुगेका हुन्।
यसैबीच साहले आफूलाई कालोसूचीबाट हटाउन माग गर्दै अर्को रिट पनि दायर गरेका थिए। कर्जा सूचना केन्द्रले उनलाई कालोसूचीबाट हटाइएको पत्र पठाएपछि बिहीबार न्यायाधीश सुवेदीको इजलासले उनको नाम कालोसूचीबाट हटाउन आदेश दिएको थियो। अघिल्लो मुद्दाको सुनुवाई आफैंले गरेकोले सुवेदीले दोस्रो मुद्दा हेर्र्न नमानेकी हुन् ।
अब भने साहको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयबारे अन्तिम फैसला हुन बाँकी छ। आयोगले उम्मेदवारी खारेज गरेपनि साहले पाएको मत भने गणना गरेर राखेको छ । उनले सबैभन्दा बढी मत प्राप्त गरेको बताइएको छ ।
यसअघि आयोगले अदालतको आदेशअनुसार हुने भन्दै मातृका यादव लाई विजयी घोषणा गर्दै प्रमाणपत्र दिइसकेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।