लोड हुँदैछ...

मेनु

मध्यपूर्वको युद्धले विश्व अर्थतन्त्रमा हलचल:

कच्चा तेलको मूल्य १०० डलर पार, सेयर बजार ओरालो

कच्चा तेलको मूल्य १०० डलर पार, सेयर बजार ओरालो

एजेन्सी । मध्यपूर्वमा इजरायल र इरानबिच चर्किएको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठुलो उछाल आएको छ भने विश्व सेयर बजारमा भारी गिरावट देखिएको छ। सन् २०२२ यता पहिलो पटक कच्चा तेलको मूल्य प्रतिब्यारल १०० अमेरिकी डलर नाघेको हो।

इरानका तेल डिपोहरूमा लक्षित हवाई आक्रमणपछि विश्वभर ऊर्जा सङ्कटको त्रास बढेको छ। सोमबार एसियाली बजार खुल्नेबित्तिकै ब्रेन्ट क्रुडको मूल्य १५.५ प्रतिशतले बढेर प्रतिब्यारल १०७.१६ डलर पुगेको छ भने नाइमेक्स क्रुड १७ प्रतिशतले वृद्धि भई १०६.७७ डलर पुगेको छ। विश्वको महत्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ अवरुद्ध हुने डरले लगानीकर्ताहरू त्रसित छन्। विश्लेषकहरूका अनुसार यो अवरोध लम्बिदै गएमा तेलको मूल्य प्रतिब्यारल १५० डलरसम्म पुग्न सक्छ।

युद्धको प्रत्यक्ष असर सेयर बजारमा पनि देखिएको छ। इन्धनको मूल्य वृद्धिले मुद्रास्फीति बढाउने डरले लगानीकर्ताहरूले धमाधम सेयर बिक्री गर्न थालेका छन्। सोमबार जापानको निक्केई २२५ इन्डेक्स ५ प्रतिशत र अष्ट्रेलियाको एएसएक्स २०० मा ३.५ प्रतिशतको गिरावट आएको छ।

इरानमा कट्टरपन्थी मानिने मोजताबा खामेनीलाई नयाँ उत्तराधिकारी चयन गरिनु र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको परमाणु खतरा रोक्न तेलको मूल्य वृद्धिलाई स्वाभाविक मान्नुले यो तनाव तत्काल साम्य नहुने संकेत गरेको छ।

तेलको यो मूल्य वृद्धिले पेट्रोल, डिजेल र हवाई इन्धन मात्र नभई रासायनिक मल र औद्योगिक उत्पादनको लागत समेत बढाउनेछ। एसियाली मुलुकहरूले ऊर्जाका लागि उच्च मूल्यमा बोलकबोल गर्न थालेपछि युरोपतर्फ जाँदै गरेका ग्यास ट्याङ्करहरू समेत एसियातर्फ मोडिन थालेका छन्। यसले समग्र विश्व अर्थतन्त्रलाई नै थप अनिश्चितता र महँगीतर्फ धकेल्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।