लोड हुँदैछ...

मेनु

टी–२० विश्वकपको पहिलो सेमिफाइनल आज : अपराजित दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै

टी–२० विश्वकपको पहिलो सेमिफाइनल आज : अपराजित दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको व्यग्र प्रतिक्षा गरिएको पहिलो सेमिफाइनल खेलमा आज बुधबार दक्षिण अफ्रिका र न्युजिल्यान्ड आमने–सामने हुँदैछन्। भारतको ऐतिहासिक इडेन गार्डेन मैदानमा हुने यो खेल नेपाली समयअनुसार साँझ ७स्१५ बजे सुरु हुनेछ।

यस विश्वकपमा दक्षिण अफ्रिका अहिलेसम्मकै सबैभन्दा बलियो र अपराजित टोलीको रूपमा देखिएको छ। समूह ‘डी’ को विजेता बन्दै सुपर–८ मा प्रवेश गरेको दक्षिण अफ्रिकाले अहिलेसम्म कुनै पनि खेल हारेको छैन। सुपर–८ को समूह १ मा रहेको उसले भारतलाई ७६ रनको विशाल अन्तरले हराएको थियो भने वेस्ट इन्डिजमाथि ९ विकेट र जिम्बावेमाथि ५ विकेटको सहज जित निकाल्दै समूह विजेताको रूपमा सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

अर्कोतर्फ, न्युजिल्यान्डको सेमिफाइनलसम्मको यात्रा भने निकै उतारचढावपूर्ण रहेको छ। समूह चरणमा तीन जित र एक हार व्यहोरेको न्युजिल्यान्ड सुपर–८ मा भाग्य र प्रदर्शनको समिश्रणले अघि बढेको हो। सुपर–८ मा पाकिस्तानसँगको खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको न्युजिल्यान्डले श्रीलंकालाई ६१ रनले पराजित गरेको थियो। अन्तिम खेलमा इंग्ल्यान्डसँग ४ विकेटले पराजित भए पनि अंक तालिकाको आधारमा समूह २ को उपविजेता बन्दै न्युजिल्यान्ड सेमिफाइनल पुग्न सफल भयो।

तुलनात्मक रूपमा हेर्दा आजको खेलमा अपराजित दक्षिण अफ्रिका न्युजिल्यान्डभन्दा निकै बलियो र उच्च मनोबलमा देखिएको छ। यद्यपि, नकआउट चरणमा न्युजिल्यान्डको पुरानो साखले खेल रोमाञ्चक हुने अनुमान गरिएको छ।

विश्वकपको दोस्रो सेमिफाइनल खेल भोलि बिहीबार भारत र साविक विजेता इंग्ल्यान्डबीच हुनेछ। यस प्रतियोगिताको फाइनल भिडन्त भने आगामी आइतबार हुने तालिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।