लोड हुँदैछ...

मेनु

आज मध्यरातिदेखि चुनावका विज्ञापन हटाउन विज्ञापन बोर्डको निर्देशन

आज मध्यरातिदेखि चुनावका विज्ञापन हटाउन विज्ञापन बोर्डको निर्देशन

काठमाडौँ । विज्ञापन बोर्डले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै राजनीतिक दल र उम्मेदवारका सबै प्रचारप्रसार सामग्री आज मध्यरातिदेखि हटाउन सञ्चारमाध्यमहरूलाई निर्देशन दिएको छ।

बोर्डले आज एक सार्वजनिक सूचना जारी गर्दै अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा राखिएका निर्वाचनसम्बन्धी विज्ञापनहरू राति १२स्०० बजेदेखि हटाउन आग्रह गरेको हो। निर्वाचन आयोग र विज्ञापन बोर्डले उपलब्ध गराएका मतदाता शिक्षा सम्बन्धी सामग्रीबाहेक अन्य सबै दल तथा उम्मेदवारका विज्ञापनमा रोक लगाइएको छ।

बोर्डले पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन पोर्टल तथा सामाजिक सञ्जालमा कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न अनुरोध गरेको छ। निर्वाचन आचारसंहिताविपरीत प्रचारप्रसार गरिएको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने बोर्डले चेतावनी दिएको छ।

बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डेद्वारा जारी सूचनामा भनिएको छ, ‘मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न वा गराउन वा प्रतिक्रिया दिन नहुने भएकाले त्यस्ता सामग्री प्रकाशन तथा प्रसारण नगर्न नगराउन अनुरोध गरिन्छ।

आज रातिदेखि निर्वाचनको मौन अवधि सुरु हुने भएकाले बोर्डले सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई सचेत गराएको हो। नियम उल्लंघन गर्नेउपर निर्वाचन आयोगको ऐन र आचारसंहिताअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।