लोड हुँदैछ...

मेनु

एकै मञ्चमा चार कम्युनिस्ट पूर्वप्रधानमन्त्री जुट्दै

एकै मञ्चमा चार कम्युनिस्ट पूर्वप्रधानमन्त्री जुट्दै

विराटनगर जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आज काठमाडौंमा आयोजना हुने एक विशेष समारोहमा नेपालका चार कम्युनिस्ट पूर्वप्रधानमन्त्रीहरू एउटै मञ्चमा देखिने भएका छन्। मदन भण्डारी फाउण्डेसनले राष्ट्रिय सभागृहमा आयोजना गर्ने ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा शीर्ष नेताहरूको साझा उपस्थिति हुन लागेको हो।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम छ। यी चारै जना नेताहरू नेपालको कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्दै मुलुकको प्रधानमन्त्री बनिसकेका व्यक्तित्व हुन्। गोष्ठीमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी हुनेछन्।

पछिल्लो समय फरक-फरक राजनीतिक ध्रुव र गठबन्धनमा रहेका यी प्रभावशाली नेताहरूको उपस्थितिलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण मानिएको छ। विशेष गरी गत असार १२ गते विराटनगरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ‘निरन्तरतामा क्रमभंगता’ हुने र एमालेसँग सहकार्य हुन सक्ने संकेत दिएका कारण पनि आजको यो सामूहिक भेटघाटलाई विशेष चासोका साथ हेरिएको छ।

मदन भण्डारीको राजनीतिक विचार र योगदानबारे केन्द्रित यस कार्यक्रममा शीर्ष नेताहरूले राख्ने धारणाले भविष्यको राजनीतिक दिशा र कम्युनिस्ट एकताको सम्भावनाबारे समेत संकेत गर्ने अपेक्षा गरिएको छ। सत्ता र प्रतिपक्षमा विभक्त शीर्ष कम्युनिस्ट नेताहरू एउटै मञ्चमा उभिनुलाई कार्यकर्ता र शुभेच्छुकहरूले सकारात्मक रूपमा लिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।