विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को १ हजार ४ सय ९९ जनाको जम्बो कोशी प्रदेश समिति अनुमोदन भएको छ ।
विराटनगरमा आज बसेको प्रदेशको एकता बैठकले उक्त सदस्यसहितको प्रदेश समिति अनुमोदन गरेको हो । समितिमा मनोनित सबैलाई नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनियताको शपथ गराएका छन् ।
नेकपा प्रदेश कमिटीका संयोजक हर्कबहादुर नेम्वाङले प्रस्ताव गरेपछि उक्त सङ्ख्यालाई बैठकमा उपस्थित प्रतिनिधिहरूले ताली बजाएर अनुमोदन गरेका थिए। संयोजक नेम्वाङले बैठकमा छलफल र स्वीकृतिका लागि आठवटा एजेन्डा पेश गरेका थिए ।
जसमा संगठन निर्माण र एकीकरणलाई तीव्रता दिनका लागि प्रदेश सचिवालय समिति गठन, जिल्ला समितिहरूको एकता भेला तथा बैठक सञ्चालन गर्ने, जनवर्गीय संगठन तथा मोर्चाहरूको व्यवस्थापन गर्ने र विभाग तथा कामको फाँट निर्धारण गर्ने रहेको छ ।
यस्तै केन्द्रीय सदस्य, प्रदेश सदस्य तथा अन्य कमिटीका सदस्यहरूको कार्यक्षेत्र र जिम्मेवारी समायोजन गरिने, पार्टी एकीकरण र संगठन विस्तारका लागि विशेष अभियान सञ्चालन गर्ने लगायतका एजेण्डा रहेका छन् । शुक्रबारको बैठकले कोशी प्रदेशका समसामयिक विषयवस्तुहरू समेटेर प्रदेश सह–इन्चार्ज परशुराम बस्नेतद्वारा तयार पारिएको प्रस्ताव पारित भएको संयोजक नेम्वाङ्गले बताए ।
बैठकलाई सम्बोधन गर्दै संयोजक नेम्वाङले पार्टी एकता र सांगठनिक समायोजनका कामहरू लामो समयदेखि अल्झिएका कारण स्थानीय तह र वडास्तरसम्म यसलाई यथाशीघ्र टुङ्ग्याउनुपर्ने आवश्यकता रहेको बताए । उनले नयाँ राजनीतिक शक्तिहरूको बढ्दो गतिविधि र अन्य दलहरूको हस्तक्षेपलाई चिर्न कार्यकर्तामा देखिएको अन्योलता र निराशा अन्त्य गर्नुपर्ने पनि बताए ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।