लोड हुँदैछ...

मेनु

ब्लक बेस्ड कोडिङतर्फ हेरिटेज इन्टरनेशनल स्कुल च्याम्पियन

ब्लक बेस्ड कोडिङतर्फ हेरिटेज इन्टरनेशनल स्कुल च्याम्पियन

विराटनगर । मेरो कोडिङ क्लास र क्लोभ आईटी विराटनगरको आयोजनामा विराटनगरमा पहिलो पटक ‘जुनियर कोड फिस्ट’ सम्पन्न भएको छ। विभिन्न विद्यालयका विद्यार्थीबीच आयोजित प्रतिस्पर्धामा ब्लक बेस्ड कोडिङ विधातर्फ हेरिटेज इन्टरनेशनल स्कुल विराटनगरका विद्यार्थी च्याम्पियन बनेका छन्।

७ विद्यालयका १६ समूहको सहभागिता रहेको प्रतियोगितामा हेरिटेजबाट प्रतिनिधित्व गरेका कक्षा ५ का श्रीयोग नेपाल, आरोहण रेग्मी तथा कक्षा ४ मा अध्ययनरत उत्कर्ष रोहन दासको टोली उत्कृष्ट बनेको हो। उनीहरूले तयार पारेको ‘ज्यामेट्री ड्यास’ परियोजना ब्लक बेस्ड कोडिङतर्फ उत्कृष्ट ठहरिएको आयोजकले जनाएको छ। विजेता टोलीले नगद २५ हजार रुपैयाँसहित पदक, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको आयोजक क्लोभ आईटी विराटनगरका प्रवन्ध निर्देशक नरेन्द्र कर्णले जानकारी दिनुभयो।

हेरिटेजकै उक्त टोलीले दुई साता अघि मेरो कोडिङले काठमाडौंमा आयोजना गरेको देशव्यापी ‘कोडिङ किकस्टार्ट’ प्रतियोगितामा पनि अन्तिम चरणसम्म स्थान बनाएको थियो।

यस्तै, एप विकास विधातर्फ मदर टेरेसा स्कुलका तीन विद्यार्थीको समूह च्याम्पियन बनेको छ भने इन्टरनेट अफ थिङ्स तथा रोबोटिक्स विधातर्फ ग्रेडेड इङलिस मिडियम सेकेन्डरी स्कुल विराटनगरका तीन विद्यार्थीको टोली विजेता बनेको छ। यी दुवै समूहले पनि सामूहिक रूपमा २५ हजार रुपैयाँ नगद पुरस्कारसहित पदक, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्।

प्रतियोगितामा ब्लक बेस्ड कोडिङतर्फ कक्षा ३ देखि ५ सम्मका विद्यार्थी, एप विकासतर्फ कक्षा ६ र ७ तथा इन्टरनेट अफ थिङ्स तथा रोबोटिक्सतर्फ कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थी सहभागी भएका थिए। विजेताहरूलाई कार्यक्रमका प्रमुख अतिथि मेरो कोडिङका प्रवन्ध निर्देशक सविन कार्की, क्लोभ आईटीका प्रवन्ध निर्देशक नरेन्द्र कर्णलगायत अतिथिहरूले पुरस्कृत गरेका थिए।

जुनियर कोड फिस्टमा हेरिटेज इन्टरनेशनलसहित पोखरिया स्कुल, डीएभी स्कुल, ग्रिन पिस एकेडेमी, अरनिको आवासीय स्कुल, मदर टेरेसा स्कुल र ग्रेडेड इङलिस मिडियम सेकेन्डरी स्कुलका विद्यार्थीहरूको सहभागिता रहेको थियो। सहभागी समूहहरूले तयार पारेका सामग्रीको अवलोकन र प्रस्तुतीपछि निर्णायक मण्डलीको मतका आधारमा विजेताको घोषणा गरिएको आयोजकले जनाएको छ।

स्नातक तहमा गएर अध्ययन गर्नुपर्ने सूचना प्रविधिसम्बन्धी प्रयोगात्मक अभ्यासलाई आधार तहबाटै अघि बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कर्णले बताउनुभयो। मेरो कोडिङ क्लास र क्लोभ आईटीले विराटनगरमा कोडिङ अध्ययन गरिरहेका विद्यालयहरूबीच प्रतिस्पर्धा आयोजना गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।