काठमाडौँ । हाल नेपालको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेकाले देशका विभिन्न स्थानको मौसममा बदली आएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा साधारणतया बदली रहेको छ । कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात भइरहेको छ भने तराईका केही स्थानमा तुँवालो लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ भने देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागमा मौसम सफा रहे पनि कोशी र गण्डकीका हिमाली भागका केही स्थान तथा अन्य प्रदेशका हिमाली भूभागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । साथै कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका समेत एक(दुई स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
आज राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा साधारणतया बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागसहित अन्य हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी क्षेत्रमा मौसम सफा रहने महाशाखाले जनाएको छ । रातिको समयमा कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराईका केही स्थानमा तुँवालो लाग्नेछ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण मौसममा आएको यो परिवर्तनले चिसो बढ्न सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।