लोड हुँदैछ...

मेनु

दुई दिने बिदा पुनर्विचार गर्दै कोशी प्रदेश: हप्तामा ६ दिन नै काम गराउने मुख्यमन्त्री कार्कीको तयारी

दुई दिने बिदा पुनर्विचार गर्दै कोशी प्रदेश: हप्तामा ६ दिन नै काम गराउने मुख्यमन्त्री कार्कीको तयारी

विराटनगर । कोशी प्रदेश सरकारले आफ्ना मन्त्रालय र मातहतका कार्यालयहरूमा साविकबमोजिम नै हप्ताको ६ दिन कार्यदिन कायम गर्ने तयारी गरेको छ । पेट्रोलियम पदार्थको खपत कम गर्ने उद्देश्यले सुरु गरिएको हप्ताको दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने व्यवस्था प्रभावकारी नभएको निष्कर्ष निकाल्दै सरकारले यस्तो गृहकार्य अघि बढाएको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा सुझाव माग्दै दुई दिने बिदा नीतिले सोचेजस्तो उपलब्धि नदिएको बताएका छन् ।

“कोशी प्रदेश सरकारले आफ्ना मन्त्रालय र मातहत अफिसलाई हप्ताको ६ दिन नै कार्यदिन बनाएर (साविक झै बिदा सनिवार १ दिन मात्रै) काम गर्दा कस्तो होला ? हप्ताको ५ दिन मात्रै काम गर्दा कार्यदिन नपुग्ने र खर्च तथा ईन्धन बचत खासै उपलब्धी देखिएन । यहाँको सुझाव पाउ !,’ मुख्यमन्त्री कार्कीले लेखेका छन् ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको र आपूर्ति असहज भएपछि बालेन शाह नेतृत्वको सरकार गठन भएलगत्तै गएको चैत २२ गतेदेखि शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा आएको थियो ।

इन्धन खपत र प्रशासनिक खर्च घटाउने मुख्य उद्देश्यसहित यो नियम देशैभर लागू गर्ने प्रयास गरिएको थियो ।

यो व्यवस्था लागू भएपछि कतिपय स्थानीय तहले यसलाई अस्वीकार गर्दै साविककै व्यवस्थाअनुसार कार्यालयहरू सञ्चालन गरे पनि अधिकांश सरकारी कार्यालय र स्थानीय तहले यसको पालना गरेका थिए ।

तर, दुई दिन बिदा दिँदा सेवाग्राही मारमा परेको, सरकारी कामकारबाही सुस्त भएको र मुख्य उद्देश्य भनिएको इन्धन तथा प्रशासनिक खर्च बचतमा कुनै ठूलो परिवर्तन नदेखिए पछि यो नीतिको आलोचना हुँदै आएको छ ।

मुख्यमन्त्री कार्कीले फेसबुकमार्फत नागरिक र सरोकारवालाहरूसँग सुझाव मागेपछि कोशी प्रदेशमा दुई दिने बिदा कटौती हुने सम्भावना बलियो बनेको छ । सर्वसाधारण र विज्ञहरूले पनि हप्तामा दुई दिन बिदा दिँदा सार्वजनिक सेवा प्रवाहमा गम्भीर असर परेको भन्दै मुख्यमन्त्रीको प्रतावकै पक्षमा सकारात्मक प्रतिक्रिया दिन थालेका छन् ।

यस विषयमा कोशी प्रदेश मन्त्रिपरिषद्को आगामी बैठकले औपचारिक निर्णय गर्न सक्ने स्रोतले जनाएको छ । यदि यो निर्णय भएमा कोशी प्रदेश दुई दिने बिदा नीतिलाई उल्ट्याएर पुनः ६ दिने कार्यतालिकामा फर्किने छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds