लोड हुँदैछ...

मेनु

धनकुटामा बस दुर्घटना हुँदा ११ जना घाइते

धनकुटामा बस दुर्घटना हुँदा ११ जना घाइते

धनकुटा । संखुवासभाबाट धरानतर्फ जाँदै गरेको यात्रुवाहक बस धनकुटामा दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

कोशी राजमार्गअन्तर्गत धनकुटा नगरपालिका–९ स्थित च्याङच्याङबारी (ट्याङ्खा–डाँडाबारी) क्षेत्रमा शुक्रबार दिउँसो करिब २ः४० बजे को १ ख ७७८८ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा सुनसरीको धरान–११ की २८ वर्षीया सविता थापा र उनकी १६ वर्षीया छोरी आरसी थापा, मोरङको सुन्दरहरैँचा नगरपालिका–११ की २८ वर्षीया अमृता तामाङ र उनकी ३ वर्षीया छोरी सुसान्ती तामाङ घाइते भएका छन्।

यस्तै, संखुवासभाको धर्मदेवी नगरपालिका–८ की ३४ वर्षीया अनिशा कुँवाल, ११ वर्षीय प्रतीक कुँवाल, धर्मदेवी–३ का १५ वर्षीय सञ्जिल खत्री, धनकुटाको महालक्ष्मी नगरपालिका–६ की २५ वर्षीया सङ्गीता राई, मोरङको कानेपोखरी गाउँपालिका–६ का ४७ वर्षीय चक्रबहादुर तामाङ तथा ३५ वर्षीय इन्द्रबहादुर तामाङसहित ११ जना घाइते भएको प्रहरीले जनाएको छ।

धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारीका अनुसार बसमा १५ जना यात्रु सवार थिए। घाइतेहरूको उद्धार गरी प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा पठाइएको र थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको छ।

बस दुर्घटनापछि केही समय अवरुद्ध बनेको कोशी राजमार्गको धनकुटा–मूलघाट सडकखण्ड हाल एकतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।