विराटनगर । कुनै समय विराटनगर महानगरपालिकाभित्र विकासको दृष्टिकोणले निकै पछाडि पारिएको क्षेत्र थियो— साविकको झापा बैजनाथपुर अर्थात् हालको विराटनगर महानगरपालिका वडा नं. १९ । महानगरमा ढिलो गरी जोडिएका कारण यस वडाले लामो समयसम्म उपेक्षा र पूर्वाधारको अभाव झेल्नुप¥यो । चार वर्ष अगाडिसम्म यहाँका सडकहरू वर्षायाममा हिलो र हिउँदमा धुलोले पुरिने गर्थे भने स्वास्थ्य र शिक्षाको अवस्था अत्यन्तै दयनीय थियो ।

तर, स्थानीय निर्वाचनपश्चात् जननिर्वाचित प्रतिनिधिहरूको सक्रियता र वडाध्यक्ष श्याम घिमिरेको स्पष्ट कार्ययोजनाका कारण अहिले विराटनगर–१९ ले विकासको गतिमा नयाँ फड्को मारेको छ । ‘विगतमा कस्तो थियो, हाल कस्तो छ र भविष्यमा कस्तो बन्ने सम्भावना छ’ भन्ने विषयलाई वडा कार्यालयले आफ्नो मार्गदर्शक सिद्धान्त बनाएर काम गर्दा अहिले यस वडाको स्वरूप नै फेरिएको छ ।
विगतमा विराटनगर–१९ मा हिँड्न योग्य सडकका नाममा मिलनचोक–महेशपुर सडक खण्ड मात्र थियो । त्यो पनि अत्यन्तै जीर्ण अवस्थामा । तर, वर्तमान नेतृत्वले कार्यभार सम्हालेपछि सडक पूर्वाधारको क्षेत्रमा सो वडामा ठूलो परिवर्तन आएको छ । ‘हामी निर्वाचित भएर आएपछि वडाको विकासलाई प्राथमिकतामा राखेर काम सुरु ग¥यौँ । विगतमा एउटा मात्र सडक जीर्ण अवस्थामा रहेको यस वडामा अहिले करिब २० देखि २२ किलोमिटर सडक पिच (कालोपत्रे) भइसकेको छ । यसका साथै सडकको स्थायित्व र संरक्षणका लागि लगभग ४५ देखि ५० किलोमिटर क्षेत्रमा रिटेनिङ वाल (पर्खाल) निर्माण गरिएको छ । ग्राभेलिङको कामलाई तीव्रता दिएर हामीले वडालाई लगभग हिलोमुक्त बनाउन सफल भएका छौँ,’ वडाध्यक्ष श्याम घिमिरेले भने । नयाँ प्लटिङ क्षेत्रहरूमा जथाभावी खनिएका सडकहरू वडाका लागि चुनौती बने तापनि योजनाबद्ध रूपमा नाला, कल्भर्ट र सडक स्तरोन्नति गरेर सडक सञ्जाललाई व्यवस्थित बनाइएको छ ।

विराटनगर–१९ मा भएको सबैभन्दा ठूलो र प्रशंसनीय कार्य स्वास्थ्य क्षेत्रको स्तरोन्नति हो । सामान्य उपचारका लागि पनि विराटनगरको मुख्य बजारका महँगा अस्पताल धाउनुपर्ने स्थानीयको बाध्यतालाई वडा कार्यालयले सदाका लागि अन्त्य गरिदिएको छ । विगतको सामान्य स्वास्थ्य चौकीलाई अहिले महानगरपालिकाकै उत्कृष्ट ‘नगर स्तरीय आधारभूत अस्पताल’ का रूपमा विकास गरिएको छ । ‘स्वास्थ्य क्षेत्रमा हामीले ठूलो फड्को मारेका छौँ । बैजनाथपुर स्वास्थ्य चौकीलाई स्तरउन्नति गरी आधारभूत अस्पताल बनाइएको छ । जहाँ अहिले चौबीसै घण्टा आकस्मिक सेवा, प्रसूति सेवा (बर्थिङ सेन्टर), आधुनिक प्रयोगशाला (ल्याब) र नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम मार्फत निःशुल्क औषधि र उपचारको व्यवस्था गरिएको छ । अस्पतालमा एमबीबीएस डाक्टर चौबीसै घण्टा उपलब्ध हुनुहुन्छ । एम्बुलेन्सको व्यवस्था समेत उपलब्ध छ ।’ यो सेवा लागू भएपछि विपन्न र निम्न वर्गीय परिवारले आफ्नै वडामा सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउन थालेका छन् ।

वडाभित्र सञ्चालित ४ वटा सामुदायिक विद्यालयहरूको अवस्था विगतमा अत्यन्तै कमजोर थियो । भौतिक संरचना जीर्ण हुनुका साथै विद्यार्थीको उपस्थिति न्यून हुन्थ्यो । तर, वडा कार्यालयले विद्यालय व्यवस्थापन समितिसँग निरन्तर सहकार्य गरी विद्यालयहरूको भौतिक तथा प्राविधिक पूर्वाधारमा व्यापक सुधार ल्याएको छ ।

अहिले वडाका केही सामुदायिक विद्यालयहरूमा शुद्ध खानेपानीका लागि फिल्टर जडान गरिएको छ । सञ्चार र सुरक्षाका लागि इन्टरनेट र सीसीटीभी क्यामेरा जडान गरिएका छन् । ‘हिजो विद्यालयहरूमा बालबालिका पढ्न आउने वातावरण थिएन । आज शैक्षिक सामग्रीको उपलब्धता, भौतिक संरचनाको पुनर्निर्माण र पठनपाठनको वातावरण सुधारिएपछि विद्यालयहरू हराभरा देखिन थालेका छन् । हाम्रा दुईवटा सामुदायिक विद्यालयहरू अंग्रेजी माध्यममा सञ्चालित छन् र उनीहरूले नमूना विद्यालयका रूपमा पहिचान बनाउँदै लगेका छन्,’ वडाध्यक्ष घिमिरेले भने ।

वडाले घरदैलो कार्यक्रम र अभिभावक सचेतना अभियान सञ्चालन गरेर निजी विद्यालयमा भर्ना भएका विपन्न वर्गका बालबालिकाहरूलाई पुनः सामुदायिक विद्यालयमा ल्याउन सफल भएको वडा सदस्य लक्ष्मण सरदार र निजनारायण राजवंशीले बताए ।
विराटनगर–१९ को सबैभन्दा जटिल र संवेदनशील समस्या भनेको सुकुम्वासी बस्तीको व्यवस्थापन हो । वडामा करिब १ हजार घरधुरी सुकुम्वासी परिवारहरू रहेका छन्, जो वर्षौँदेखि आवास र जमिनको अधिकारबाट बञ्चित छन् ।

यस समस्याको दीर्घकालीन समाधानका लागि सरकारी जग्गालाई सदुपयोग गर्दै मन्त्रिपरिषद् (क्याबिनेट) बाट निर्णय गराएर भूमिहीनहरूलाई लालपुर्जा उपलब्ध गराउनुपर्ने वडाध्यक्ष घिमिरेले बताए । ‘हामीसँग पर्याप्त सरकारी जग्गा छ । यसलाई क्याबिनेट निर्णय गराएर स्थानीयको भोगचलनका आधारमा जग्गा धनी प्रमाणपूर्जा दिलाउने र त्यहाँ एउटा सुविधासम्पन्न नमूना एकीकृत बस्ती बसाल्ने हाम्रो योजना छ । यस बस्तीभित्र खेल मैदान, विद्यालय, व्यवस्थित सडक र सरसफाइको पूर्ण प्रबन्ध हुनेछ । यस बृहत् संरचना निर्माणका लागि संघीय र प्रदेश सरकारबाट करिब ५० करोड रुपैयाँ बजेट आवश्यक पर्छ, जसका लागि हामीले निरन्तर पहल गरिरहेका छौँ,’ घिमिरेले भने । यो योजना सफल भएमा सुकुम्वासी समुदायको जीवनस्तरमा ऐतिहासिक सुधार आउने उनको भनाइ छ ।

भौतिक विकाससँगै मानवीय आस्था र धार्मिक सम्पदाको संरक्षणमा पनि विराटनगर–१९ ले उदाहरणीय काम गरेको छ । साविकको सिंघिया घाट, जहाँ मानिसहरू दाहसंस्कारका लागि मात्र जाने गर्थे, त्यसलाई अहिले पर्यटकीय र धार्मिक गन्तव्यका रूपमा रूपान्तरण गरिएको छ ।
घाट क्षेत्रलाई स्वर्गघाटको रूपमा विकास गरी प्रत्येक हप्ता सोमबार शिवगंगा आरती सञ्चालन गर्न थालिएको छ । मलामीहरूका लागि विश्रामस्थल, मलामी घर, दाउरा गोदाम घर र दुर्गा मन्दिर तथा कालेश्वर मन्दिरको निर्माण सम्पन्न भइसकेको छ ।

अहिले यस क्षेत्रमा विशाल द्वादश ज्योतिर्लिङ्ग मन्दिरको निर्माण कार्य भइरहेको छ । यस धार्मिक पर्यटकीय पूर्वाधारका कारण अहिले वडावासीहरूले आफू महानगरपालिकाको नागरिक भएकोमा गर्व महसुस गर्न थालेका छन् ।
वडा नं. १९ कृषि क्षेत्रमा पनि अग्रणी मानिन्छ । परम्परागत खेती प्रणालीलाई विस्थापित गर्दै वडाले किसानहरूलाई व्यावसायिक कृषिमा जोड्ने प्रयास गरेको छ । किसानहरूलाई मोटर, च्याप्कटर, ट्याक्टर, पम्पसेट र आधुनिक कृषि औजारहरूमा अनुदान तथा सहयोग उपलब्ध गराइएको छ । पशुपालन र कृषि क्षेत्रको विकासमा निरन्तर पहल भएको छ ।

त्यस्तै, युवा वर्ग र खेलकुदको विकासका लागि वडामा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालालाई थप व्यवस्थित बनाउन पहल थालिएको छ । क्रिकेट, फुटबल, टेबलटेनिस लगायतका बहुआयामिक खेलहरू एकै ठाउँमा खेल्न सकिने गरी रङ्गशालाको डिपिआर स्वीकृत गराएर संघीय सरकारसँग बजेट माग गरिएको छ ।

विगतको विकट र उपेक्षित बैजनाथपुर आज विराटनगर महानगरपालिकाकै एक ऊर्जावान् र नमुना वडाका रूपमा स्थापित भइरहेको छ । पूर्वाधार, शिक्षा, स्वास्थ्य, संस्कृति र सुकुम्वासी व्यवस्थापनमा चालिएका कदमहरूले यस वडाको सुन्दर भविष्यको संकेत गर्दछन् । स्थानीय जनप्रतिनिधिहरूको निरन्तरको दौड र स्पष्ट भिजनकै कारण विराटनगर–१९ ले विकासको यात्रामा नयाँ–नयाँ काम गर्न सफल भएको छ । आगामी दिनमा संघीय र प्रदेश सरकारको थप सहयोग प्राप्त भएमा यो वडा मुलुककै उत्कृष्ट नमूना वडा बन्ने सम्भावना देखिएको वडाध्यक्ष घिमिरे बताउँछन् ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।