विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ८ को भूगोल केही वर्ष अघिसम्म उपेक्षित र विकासको पर्खाइमा रहेको एउटा क्षेत्रको रूपमा चिनिन्थ्यो । वर्षायाम सुरु हुनासाथ यहाँका बासिन्दामा एउटा त्रास हुन्थ्यो— कतै ढलको पानी घरभित्र पसेर उठिबास लगाउने त होइन ? हिलाम्मे सडक र धुलोको साम्राज्य यहाँको पहिचान जस्तै बनेको थियो । तर, स्थानीय तहको निर्वाचनपछि वडा अध्यक्षको रूपमा राम पोख्रेल र उनको टिम आएपछि यो वडाले विकासको एउटा यस्तो गति समात्यो, जसले आज समग्र महानगरका लागि एउटा पाठ सिकाएको छ ।
जनप्रतिनिधिको इच्छाशक्ति र जनताप्रतिको इमानदार उत्तरदायित्व हुने हो भने सीमित स्रोतसाधनका बाबजुद पनि ठूलो परिवर्तन सम्भव छ भन्ने उदाहरण वडा अध्यक्ष पोख्रेलले आफ्नो चार वर्षे कार्यकालमा प्रस्तुत गरेका छन् । उनले पदभार ग्रहण गरेदेखि नै एउटा स्पष्ट भिजनका साथ काम सुरु गरे— आफ्नो वडालाई डुबानमुक्त बनाउने, भौतिक पूर्वाधारमा अब्बल बनाउने र सामाजिक सुरक्षामा देशकै नमूना बनाउने ।
कुनै पनि विकासका लागि पहिलो सर्त बजेट हो भन्ने तथ्यलाई बुझेका पोख्रेलले केवल वडाको सीमित बजेटमा मात्र भर नपरी संघीय र प्रदेश सरकारसँग बलियो समन्वय गरे । उनले आफ्नो कार्यकालमा वार्षिक १० करोड रुपैयाँभन्दा बढीको बजेट वडामा भित्र्याउन सफल भए, जुन एउटा वडाका लागि निकै ठूलो उपलब्धि हो। प्रदेश सरकारबाट वार्षिक ३ देखि ४ करोड र संघीय सरकारबाट २ देखि ४ करोडसम्मको बजेट ल्याउन उनले देखाएको सक्रियताले नै वडा ८ मा विकासको लहर ल्याएको हो ।
यो समन्वयकारी भूमिकाले नै वडा ८ लाई महानगरका अन्य वडाहरूको तुलनामा विकासमा धेरै अगाडि बढाएको छ । विराटनगरको मुख्य र दीर्घकालीन समस्या नै डुबान हो, जसका कारण वडा ८ का बासिन्दाले दशकौँदेखि पीडा भोग्दै आएका थिए। पोख्रेलले आफ्नो चुनावी प्रतिबद्धतामा गरेको ‘डुबानमुक्त वडा’ बनाउने संकल्पलाई आज मूर्तरूप दिएका छन् ।

अशोक चोकदेखि विश्वकर्मा चोक, स्वागतम चोक, रेलवे पारि हुँदै राजवंशी टोलको छेउ भएर बलुवाईसम्मको करिब डेढ किलोमिटर लामो ढल साढे ६ करोडको लागतमा निर्माण भएको छ, जसले वडाको ठूलो भूगोललाई डुबानबाट जोगाएको छ । त्यस्तै, हुसेन मार्गमा डेढ करोडको लागतमा बनेको ढल र बालगोपाल टोलमा संघीय सरकारको १ करोड सहयोगमा बनेको नालाले पानी निकासलाई सहज बनाएको छ । सिंग्या खोलाको कटान रोक्न चालिएको तटबन्धको कदमले तटीय क्षेत्रका बासिन्दामा सुरक्षाको अनुभूति गराएको छ ।
सडक पूर्वाधारको क्षेत्रमा पनि यो चार वर्षमा क्रान्तिकारी परिवर्तन भएको छ । धुलाम्मे र हिलाम्मे भित्री सडकहरू अहिले चिल्ला कालोपत्रे (पिच) मा परिणत भएका छन् । पोख्रेलको कार्यकालमा वार्षिक औसत २ किलोमिटर सडक पिच गर्ने लक्ष्य राखिएको थियो, जुन सफलतापूर्वक अघि बढिरहेको छ । जय नेपाल मार्ग, बाँके बिहारी मार्ग, समता मार्ग, र निर्मल जल मार्ग जस्ता मुख्य सडकहरू अहिले आधुनिक देखिन्छन् । सडक निर्माणसँगै ढल निकासलाई पनि प्राथमिकता दिइएको छ । वार्षिक ५ देखि ७ सय मिटर सडक ढलान र २ किलोमिटर रिटेनिङ वाल निर्माणले वडाको स्वरूप नै फेरीएको छ । सडक र ढल मात्र होइन, पोख्रेलले वडाको वातावरणीय र सौन्दर्यकरणमा पनि उत्तिकै ध्यान दिएका छन् । हाटखोला खेल मैदानको कथा अहिले पूरै बदलिएको छ । कुनै समय यो ठाउँ फोहोर फाल्ने र दुर्गन्धित क्षेत्रको रूपमा चिनिन्थ्यो । तर, पोख्रेलले यसलाई एउटा गौरवको केन्द्र बनाउने चुनौती लिए ।
कोशी अस्पतालको हजारौं टिपर माटो ल्याएर मैदान पुर्ने काम भयो र आज त्यहाँ खेलाडीहरूका लागि मिनी प्यारापिट समेत बनेको छ । त्यति मात्र होइन, हाटखोला र गणेश मन्दिर परिसरमा ‘ओपन जिम’ र बगैँचा निर्माण गरिएको छ, जहाँ बिहान–बेलुका स्वस्थ रहनका लागि व्यायाम गर्ने स्थानीयको ठूलो ताँती लाग्ने गर्छ ।
वडाको विकास केवल ढुंगा र सिमेन्टमा मात्र सीमित छैन, उनले मानवीय र सामाजिक विकासमा पनि उत्तिकै जोड दिएका छन् । वडाका चारवटा सामुदायिक विद्यालयको अवस्था सुधारिएको छ । विपन्न विद्यार्थीलाई स्कूल ब्याग, न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेर वडाले अभिभावकीय भूमिका निर्वाह गरेको छ । विद्यालय र कारागारमा योग कक्षा सञ्चालन गरेर मानसिक स्वास्थ्यप्रति सजगता अपनाइएको छ ।
स्वास्थ्य क्षेत्रमा उनले गरेका कामहरू झनै उदाहरणीय छन् । सुत्केरी महिलालाई पोषणका लागि गेडागुडी, अण्डा र घिउ वितरण गर्ने कार्यक्रमले मातृ–शिशु स्वास्थ्यमा टेवा पु¥याएको छ । वडा कार्यालयमै नियमित रूपमा हुने निःशुल्क आँखा जाँच, सुगर जाँच र प्रसूति सेवाले गरिब र विपन्न नागरिकलाई ठूलो राहत दिएको छ । समाजका अभिभावक मानिने ज्येष्ठ नागरिकप्रति वडाको विशेष सम्मान देखिन्छ । ‘दन्त उपहार’ कार्यक्रम अन्तर्गत वृद्धवृद्धाहरूलाई निःशुल्क दाँत लगाइदिने काम भयो, जसले उनीहरूको मुस्कान फर्काइदिएको छ । ज्येष्ठ नागरिकलाई लौरो, झुल, छाता, टर्च लाइट, रेडियो र न्यानो कम्बल वितरण गरेर वडाले उनीहरूको सहारा बनेको छ। घर–घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था बुझ्ने र सम्मान गर्ने संस्कृतिले वडामा सामाजिक सद्भाव बढाएको छ ।
वडा ८ ले नागरिकको जन्मदेखि मृत्युसम्मको साथी बन्ने प्रयास गरेको छ । कोही असहाय व्यक्तिको मृत्यु हुँदा घाटसम्म लैजान एम्बुलेन्स, दाहसंस्कारका लागि दाउरा र क्रियाकर्मका लागि खाद्यान्नको व्यवस्था वडाले नै गर्ने गरेको छ । जुनसुकै धर्म मान्ने भए पनि अन्तिम संस्कारका लागि वडाबाट राहत सामग्री लिएर जनप्रतिनिधिहरू घरमै पुग्ने गरेका छन् । विपन्न परिवारका छोरीहरूको विवाहमा खाद्यान्न सहयोग गर्ने कार्यक्रमले ‘अभिभावक वडा’को झल्को दिन्छ । विभिन्न जातजाति र धर्मको बसोबास रहेको यो वडाले सबैलाई समेट्ने प्रयास गरेको छ । बलुवाई, गणेश मन्दिर, राजवंशी टोल जस्ता ठाउँमा सामुदायिक भवनहरू निर्माण भएका छन्। मन्दिर मात्र होइन, मस्जिद र चर्चहरूलाई पनि आवश्यकता अनुसार साउन्ड सिस्टम र अन्य सामग्री सहयोग गरेर उनले धार्मिक सहिष्णुतालाई मजबुत बनाएका छन् । ‘उज्यालो वडा अभियान’ अन्तर्गत वडाका हरेक पोलमा नम्बरिङ र बिजुली बत्तीको व्यवस्था गरिएको छ, जसले गर्दा रातिको समयमा पनि वडा सुरक्षित र झलमल्ल देखिन्छ। अशोक चोक र जत्वा खानेपानी आयोजनाको पाइपलाइन विस्तार गरेर वर्षौँदेखि शुद्ध खानेपानीको प्रतीक्षामा रहेका बासिन्दाको घरमा पानी पु¥याइएको छ ।
वडामा रहेका लागुऔषध दुव्र्यसनी र मानसिक सन्तुलन गुमाएका व्यक्तिहरूलाई सुधार गृहसम्म लैजान र उनीहरूको उपचारमा सहयोग गर्ने काम गरेर वडाले एउटा जिम्मेवार संरक्षकको भूमिका निर्वाह गरेको छ । जनप्रतिनिधिहरूको यो चार वर्षको कार्यकाल हेर्दा उनीहरूले विकासलाई बहुआयामिक ढंगले अगाडि बढाएको देखिन्छ । एकातिर ठूला ढल र सडकका आयोजनाहरू छन् भने अर्कोतिर सुत्केरी पोषण र ज्येष्ठ नागरिकको दाँत उपहार जस्ता अत्यन्तै संवेदनशील र मानवीय कार्यहरू छन् । वडा अध्यक्ष पोख्रेल भन्छन्, ‘हामीले सपना बाँडेका थियौँ, आज ती सपनाहरू पूरा हुँदै गरेको देख्दा आत्मसन्तुष्टि मिल्छ, तर काम अझै धेरै बाँकी छ ।’
वास्तवमै, विराटनगर ८ ले आज जुन प्रगतिको बाटो समातेको छ, त्यसको जस निःसन्देह वडाका सबै जनप्रतिनिधिलाई जान्छ । पोख्रेल नेतृत्वको यो कार्यकालले के प्रमाणित गरेको छ भने— यदि जनप्रतिनिधि इमानदार हुने हो भने चार वर्षको समय एउटा वडाको भाग्य र भविष्य बदल्न काफी हुने रहेछ । विराटनगर ८ को यो रूपान्तरण केवल एउटा वडाको विकास मात्र होइन, यो समग्र स्थानीय सरकारका लागि एउटा सिक्नै पर्ने ‘केस स्टडी’ र ‘रोल मोडेल’ हो, जहाँ भौतिक संरचनासँगै मानवीय संवेदनाको पनि उत्तिकै सम्मान गरिएको छ । आज यो वडा विकासको एउटा कार्यशाला जस्तै बनेको छ, जहाँबाट अन्य प्रतिनिधिहरूले पनि धेरै कुरा सिक्न सक्छन् ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।