धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–९ खाल्डे कटहरेमा भरुवा बन्दुक सफा गर्ने क्रममा पड्किँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ४७ वर्षीय रामकृष्ण थापा रहेका छन्। शुक्रबार बन्दुक सफा गर्ने क्रममा गम्भीर घाइते भएका थापाको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार थापाले बारुद लोड भएको भरुवा बन्दुकको नाल आगोमा तताएर सफा गर्ने प्रयास गरेका थिए। त्यसपछि मुखले फुकेर नाल सफा गर्न खोज्दा बन्दुक अचानक पड्किएको थियो।
घटनामा गम्भीर घाइते भएका थापालाई तत्काल उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको थियो। उपचारकै क्रममा शुक्रबार राति चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि प्रहरी चौकी जितपुरबाट खटिएको टोलीले घटनास्थलबाट एकनाले भरुवा बन्दुक नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा थापाले बाँदर धपाउनका लागि घरमा उक्त बन्दुक राखेको हुन सक्ने धनकुटा प्रहरीका निरीक्षक पाण्डव राजवंशीले बताए।
प्रहरी निरीक्षक राजवंशीको नेतृत्वमा थप प्रहरी टोली घटनास्थलमा खटिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।