लोड हुँदैछ...

मेनु

१६ औं राष्ट्रपति रनिङ शिल्ड

खेलाडीको मनोबल बढाउँदै कोशी प्रदेश, २८ पदक जित्ने खेलाडीलाई १७ लाख ७५ हजार दिँदै

खेलाडीको मनोबल बढाउँदै कोशी प्रदेश, २८ पदक जित्ने खेलाडीलाई १७ लाख ७५ हजार दिँदै

विराटनगर । १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक जित्न सफल कोशी प्रदेशका २८ खेलाडीलाई प्रदेश सरकारले १७ लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने भएको छ ।

काठमाडौँमा सम्पन्न प्रतियोगितामा ४ स्वर्ण, ७ रजत र १७ कांस्य जित्दै पदक तालिकामा पाँचौँ स्थान सुरक्षित गरेको कोशीले आफ्ना खेलाडीको मनोबल बढाउन नगद पुरस्कारको तयारी गरेको हो ।

इटहरीबाट काठमाण्डौ खेल्न जाने खेलाडीहरुलाई बिदाइ गर्ने क्रममा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पदक जित्नेलाई नगद पुरस्कार दिने घोषणा गरेका थिए । सोही प्रतिबद्धता अनुसार प्रदेश खेलकुद विकास बोर्डले पुरस्कारको रकम र मापदण्ड तय गरेको छ ।

प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषका अनुसार स्वर्ण पदक विजेतालाई जनही १ लाख रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै, रजत पदक जित्नेले जनही ७५ हजार र कांस्य विजेताले जनही ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

‘मुख्यमन्त्रीज्यूको घोषणा अनुसार हामीले पदक विजेता खेलाडीहरूको सम्मानका लागि १७ लाख ७५ हजार रुपैयाँ बराबरको पुरस्कार राशि तयार गरेका छौँ,’ सदस्य सचिव घोषले भने, ‘पदक विजेता खेलाडी र प्रशिक्षकहरू प्रदेशमा आइसकेका छन्, छिट्टै एक भव्य कार्यक्रमका बीच उनीहरूलाई पुरस्कृत गर्नेछौँ ।’

यसपटक कोशी प्रदेशले ४ स्वर्णसहित कुल २८ पदक जितेको छ । जसअनुसार स्वर्ण जित्ने चार जनाले ४ लाख, रजत जित्ने सात जनाले ५ लाख २५ हजार र कांस्य जित्ने १७ जनाले ८ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
अघिल्लो वर्ष सम्पन्न १५ औँ संस्करणमा कोशी प्रदेश स्वर्णविहीन बन्दै सातौँ स्थानमा खुम्चिएको थियो । तर, यसपटक नेतृत्वको सक्रियता र १४ वटै जिल्लाका १ हजार ७ सय खेलाडीमध्येबाट चुनिएका ११५ उत्कृष्ट खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर पठाइएकाले नतिजामा उल्लेख्य सुधार देखिएको हो ।

यसपटक कोशीले करातेमा ३ र तेक्वान्दोमा १ स्वर्ण हात पारेको छ । सरकारको यो प्रोत्साहनले आगामी फागुनमा कोशी प्रदेशमै आयोजना हुने १७ औँ राष्ट्रपति रनिङ शिल्डमा अझै उत्कृष्ट प्रदर्शन गर्न खेलाडीहरूलाई उर्जा मिल्ने विश्वास लिइएको छ ।

२८ पदक जित्ने कोशी प्रदेशका यी खेलाडीहरुले पाउछन् पुरस्कार

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।