लोड हुँदैछ...

मेनु

मिथिला थालीका सञ्चालक सन्तोष शाह ठगी आरोपमा पक्राउ

मिथिला थालीका सञ्चालक सन्तोष शाह ठगी आरोपमा पक्राउ

विराटनगर । मिथिला थालीका सञ्चालक तथा चर्चित सेफ सन्तोष साह पक्राउ परेका छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार धनुषाको जनकपुर उपमहानगरपालिका–८ रामानन्द चोकबाट पक्राउ गरेको हो।

कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार सिराहाको कर्जन्हा नगरपालिका–११ स्थायी घर भएका साहविरुद्ध ठगीसम्बन्धी उजुरी परेपछि पक्राउ गरिएको हो। चितवन घर भई काठमाडौं बस्दै आएकी सकुन्तला थापाले साहविरुद्ध ठगीको जाहेरी दिएकी थिइन्।

थापाका अनुसार उनले दुई वर्षअघि काठमाडौंको गैरीधारास्थित आफ्नो रेस्टुरेन्ट साहलाई २ करोड २५ लाख रुपैयाँमा बिक्री गरेकी थिइन्। उनले साहले सुरुमै केही रकम भुक्तानी गरे पनि डेढ करोड रुपैयाँभन्दा बढी रकम हालसम्म नतिरेको दाबी गरेकी छन्। बाँकी रकम माग्दा विभिन्न बहाना बनाएर भुक्तानी टार्दै आएको उनको आरोप छ।

थापाका अनुसार करिब एक वर्षअघि साहले भुक्तानीका लागि चेक दिएका थिए। तर, उक्त खातामा पर्याप्त रकम नभएको र पटक–पटक पैसा जम्मा हुने आश्वासन दिए पनि रकम प्राप्त नभएपछि आफू प्रहरीको शरणमा पुगेको उनले बताएकी छन्।

रेस्टुरेन्ट खरिद–बिक्रीको कारोबारअघि आफू र साहबीच कुनै चिनजान नरहेको पनि थापाले बताएकी छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

चर्चित सेफ शाहले केही समयअगाडि मात्र विराटनगरमा पनि मिथिला थालीको शाखा सञ्चालनमा ल्याएका थिए।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।