विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालाले संस्थापन इतर समूहले विराटनगरमा आयोजना गर्न लागेको प्रदेशस्तरीय भेलाको प्रचार सामग्रीमा आफ्नो नाम वक्ताका रूपमा राखिएकोप्रति असन्तुष्टि जनाउँदै आफूलाई ‘फसाउन खोजिएको’ आरोप लगाएका छन्।
जेठ ३१ गते विराटनगरमा हुने उक्त भेलाको प्रचार सामग्रीमा आफ्नो नाम वक्ताका रूपमा समावेश गरिएको भए पनि यसबारे आफूलाई कुनै जानकारी नदिइएको कोइरालाले बताएका छन्।
‘म अहिले नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुँ। यस्तो अवस्थामा कसरी त्यो भेलामा जान्छु ? कि त पहिले पद त्याग्नुपर्यो। नाम राख्दैमा सबै कुरा हुँदैन,’ उनले सञ्चारकर्मीसँगको कुराकानीमा भने।
उनले विगतमा यस्ता कार्यक्रम आयोजना गर्दा समेत आफूलाई जानकारी नदिइने गरेको उल्लेख गर्दै यसपटक पूर्वसहमति नै नलिई नाम समावेश गरिएको गुनासो गरे। ‘पहिला–पहिला कार्यक्रम गर्दा पनि सोधिँदैनथ्यो, अहिले आएर नाम राखिएको छ,’ उनले भने।
कोइरालाका अनुसार उक्त कार्यक्रमबारे छलफल गर्न नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला उनको निवासमा पुगेका थिए। ‘शेखर दाइ घरमा आएर चिया खानुभएको थियो। अन्य कार्यकर्ताहरूलाई पनि निम्ता गर्नुभएको थियो,’ उनले भने, ‘तर म अहिले काठमाडौंमा छु। कार्यक्रमको विस्तृत रूपरेखा समेत मलाई थाहा छैन।’
आफू पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध लक्षित भेलामा सहभागी नहुने स्पष्ट पार्दै उनले भने, ‘सभापतिको विरुद्धमा गर्न लागिएको भेलामा जाने कुरा त भएन।’
पार्टीभित्र बढ्दो ध्रुवीकरणप्रति संकेत गर्दै कोइरालाले कटाक्षपूर्ण शैलीमा प्रतिक्रिया दिएका छन्। ‘निदाएको मान्छेलाई उठाउन सजिलो हुन्छ, तर निदाएको नाटक गर्नेलाई कसरी उठाउने ?’ उनले भने। त्यसै प्रसङ्गलाई कांग्रेसको आन्तरिक राजनीतिसँग जोड्दै उनले थपे, ‘यो फुट्न खोजिएको हो कि घुर्क्याउन खोजिएको हो, मलाई थाहा भएन।’
पार्टीभित्रको विवाद समाधानका लागि नेतृत्व तहले समन्वयकारी भूमिका खेल्नुपर्नेमा जोड दिँदै उनले सत्तामा रहेका नेताहरूले दुवै पक्षलाई मिलाएर लैजान पहल गर्नुपर्ने बताए।
राजीव कोइराला यसअघि डा. शेखर कोइराला समूहमा सक्रिय थिए। विशेष महाधिवेशनपछिको आन्तरिक समीकरणमा उनी गगन थापा निकट समूहमा खुलेका थिए र सोही समूहको समर्थनमा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनीत भएका थिए।
विराटनगरस्थित मनास्लु होटलमा हुने प्रदेशस्तरीय भेलामा डा. शेखर कोइराला प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ। भेलामा कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, डा. मिनेन्द्र रिजाल, बलबहादुर केसी तथा एनपी साउद प्रमुख वक्ताका रूपमा रहने जनाइएको छ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।