लोड हुँदैछ...

मेनु

मिडिया ट्रायलको गङ्गा दाहालद्वारा प्रतिवाद

मिडिया ट्रायलको गङ्गा दाहालद्वारा प्रतिवाद

विराटनगर । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी तथा उनका पूर्व स्वकीय सचिव गङ्गा दाहालले केही दिनदेखि आफू र आफ्नो परिवारविरुद्ध नियोजित रूपमा मिडिया ट्रायल भइरहेको भन्दै आपत्ति जनाएकी छन् ।

सामाजिक सञ्जालबाट आज एक विज्ञप्ति जारी गर्दै दाहालले सामाजिक सञ्जालमा फैलाइएका आधारहीन र भ्रामक प्रचारको खण्डन गरेकी हुन् । ‘नामै नसुनेका युट्युब, फेसबुक र टिकटक अकाउन्टहरूबाट फैलाइएका षड्यन्त्रपूर्ण दुष्प्रचारलाई म पूर्ण रूपमा खारेज गर्दछु,’ उनले भनेकी छन् । राजनीतिक पूर्वाग्रह राखेर सामाजिक सञ्जालको दुरुपयोग गरी बदनाम गर्ने काम भइरहेको भन्दै दाहालले यसबारे सरकार र सुरक्षा निकायको ध्यानाकर्षण समेत गराएकी छन् ।

नेकपाकी नेतृ दाहालले भाइ प्रकाश दाहालको निधनपछि पार्टीको निर्णयबमोजिम नै नेतृत्वलाई सहयोग गर्दै आएको प्रष्ट पारेकी छन् । व्यक्तिगत लाभ वा पदको अपेक्षा नराखी आफू पार्टी र नेतृत्वको हितमा समर्पित रहेको दाबी गर्दै उनले यस्ता भ्रम चिर्न सबैलाई आग्रह गरेकी छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारका सम्बन्धित निकायले आवश्यक ठानेको जुनसुकै छानबिन वा अनुसन्धानका लागि हामी पूर्ण रूपमा सहयोग गर्न प्रतिबद्ध छौँ।’ उनले सत्यलाई भ्रमले पराजित गर्न नसक्ने उल्लेख गर्दै आम सर्वसाधारणलाई अफवाहको पछि नलाग्न अनुरोध गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।