लोड हुँदैछ...

मेनु

को बन्ला पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति ?

को बन्ला पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति ?

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि आवेदन दिएकामध्ये सरकारले १० जनाको सर्ट लिस्ट सार्वजनिक गरेको छ।

सर्टलिस्टमा यसअघि सरकारले बर्खास्त गरेका उपकुलपति बिजुकुमार थपलिया सहितको नाम भएपनि अन्य तीनजनालाई मुख्य दावेदारका रूपमा हेरिएको छ।

उपकुलपतिको लागि आवेदन दिएका ३४ जनामध्ये १० जनाभित्र परेका अजय भट्टराई, देवेन्द्र अधिकारी र अनिलकुमार पोखरेलमध्यबाट उपकुलपति हुने सम्भावना रहेको विश्वविद्यालय स्रोतले जनाएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिले प्राप्त ३४ आवेदनमध्ये छानेका १० जनाको सर्टलिस्टमा भट्टराई, अधिकारी र पोखरेलसहित अशोककुमार झा, जनार्दन लामिछाने, दिलीप पराजुली, नरेन्द्र कटुवाल, माधव लम्साल, विजुकुमार थपलिया र सुजनबाबु मराठ्ठा छन्।

विश्वविद्यालय स्रोतका अनुसार सर्टलिस्टमा परेका उम्मेदवारमध्ये भट्टराई, अधिकारी र पोखरेललाई बलिया दाबेदारका रूपमा हेरिएको छ। तीनै जना मोरङको विराटनगरका हुन् ।

अजय भट्टराई त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पूर्व सदस्य हुन्। उनी अध्यादेशमार्फत पदमुक्त भएका पदाधिकारीमध्ये एक थिए।

देवेन्द्र अधिकारी पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका पूर्वअध्यक्ष हुन्। विश्वविद्यालयको प्रशासनिक संरचना, नीतिगत व्यवस्थापन र संस्थागत सुधारका विषयमा उनको राम्रो पकड रहेको बताइन्छ। उनी पनि अध्यादेशमार्फत पदमुक्त भएका पदाधिकारीमध्ये पर्छन्।

अनिलकुमार पोखरेललाई भने शैक्षिक सुधार, नेतृत्व क्षमता र विश्वविद्यालयमा गरेको योगदानका आधारमा सबैभन्दा बलियो दाबेदारका रूपमा हेरिएको छ। पूर्वाञ्चल विश्वविद्यालयको कला, कानुन तथा शिक्षाशास्त्र सङ्कायका पूर्व डीन रहेका उनले आफ्नो कार्यकालमा अन्तर्राष्ट्रियस्तरका शैक्षिक सम्मेलन आयोजना गराएका थिए। साथै बीएएलएलबी र एलएलएम कार्यक्रमलाई आङ्गिक क्याम्पसमार्फत सञ्चालनको प्रक्रियामा अगाडि बढाउन उनले महत्त्वपूर्ण भूमिका खेलेको चर्चा छ।

सर्टलिस्टमा वर्तमान कामचलाउ उपकुलपति विजुकुमार थपलिया पनि परेका छन्। उपकुलपति पदबाट हटाइएपछि पुनः कामचलाउ उपकुलपतिको जिम्मेवारी पाएका थपलिया पुनर्नियुक्तिको दौडमा रहेपनि पहिलेको सरकारले नियुक्ति गरेको कारण उनको सम्भावना कमजोर रहेको बताइन्छ। नुवाकोट स्थायी घर भएका थपलिया अध्यादेशमार्फत पदमुक्त भएका पदाधिकारीमध्ये एक हुन्।

सर्टलिस्टमा रहेका अर्का चर्चित उम्मेदवार सुजनबाबु मराठ्ठा यसअघि चिकित्सा शिक्षा आयोगका डाइरेक्टरका रूपमा कार्यरत थिए। उनी पनि अध्यादेशमार्फत पदमुक्त भएका पदाधिकारीमध्ये पर्छन्।

अब सिफारिस समितिले सर्टलिस्टमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता र थप मूल्याङ्कन गर्नेछ। त्यसपछि योग्य ठहरिएका नाम सरकारसमक्ष सिफारिस गरिनेछ। सरकारको अन्तिम निर्णयपछि पूर्वाञ्चल विश्वविद्यालयले नयाँ उपकुलपति पाउनेछ।

सरकारले विश्वविद्यालय नेतृत्व चयनलाई प्रतिस्पर्धात्मक, पारदर्शी र योग्यतामा आधारित बनाउन पहिलोपटक खुला आवेदनमार्फत उपकुलपति छनोट प्रक्रिया अघि बढाएको जनाएको छ। यही कारण पूर्वाञ्चल विश्वविद्यालयको नेतृत्व कसले सम्हाल्छ भन्ने विषय शैक्षिक क्षेत्रसँगै राजनीतिक, प्रशासनिक र बौद्धिक वृत्तमा समेत चासोका साथ हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।