बिर्तामोड । झापाको बिर्तामोड–२ चारपाने चोकमा एक युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दलेको आरोपमा चार जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार शुक्रबार साँझ करिब ६ः३० बजे स्थानीय २१ वर्षीया सबिना राजवंशीमाथि सार्वजनिक रूपमा दुर्व्यवहार गरिएको थियो। पुरानो रिसइबीका कारण केही व्यक्तिले उनको हात बिजुलीको पोलमा बाँधेर कालोमोसो दलेको आरोप लागेको छ।
इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार घटनामा संलग्न रहेको आरोपमा कन्काई नगरपालिका–८ का १८ वर्षीय समिर मुर्मु, २० वर्षीया सबिना मुर्मु, २५ वर्षीया स्वस्तिका मुर्मु र १९ वर्षीया पूजा बस्नेतलाई पक्राउ गरिएको छ।
स्थानीयवासीले घटनाबारे प्रहरीलाई जानकारी दिएपछि प्रहरी सहायक निरीक्षक नम्भुकुमार माझीको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट कालो मोबिल रहेको बट्टा तथा विभिन्न पम्प्लेटसहित १६ थान सामग्री बरामद गरेको जनाएको छ।
घटनामा घाइते भएकी सबिना राजवंशीको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ। पक्राउ परेका चारै जनाविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।
सार्वजनिक स्थलमै एक युवतीमाथि गरिएको दुर्व्यवहारको घटनाले स्थानीय तहमा सुरक्षा, कानुनी शासन र सामाजिक मर्यादाको विषयलाई पुनः बहसको केन्द्रमा ल्याएको छ।























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।