लोड हुँदैछ...

मेनु

राष्ट्रव्यापी कविता प्रतियोगितामा जाजरकोटका सदाशय प्रथम, तीन स्रष्टा सम्मानित

राष्ट्रव्यापी कविता प्रतियोगितामा जाजरकोटका सदाशय प्रथम, तीन स्रष्टा सम्मानित

विराटनगर । अर्थतन्त्रको मेरुदण्ड मानिने सहकारी क्षेत्रले विराटनगरमा अक्षरको खेती गर्दै भव्य साहित्यिक माहोल सिर्जना गरेको छ। राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सम्पन्न ‘खुल्ला राष्ट्रव्यापी कविता प्रतियोगिता–२०८३’ ले देशका विभिन्न कुनाबाट आएका स्रष्टाहरूलाई एउटै मञ्चमा उभ्याएको हो।

साहित्य, कला र समाज रूपान्तरणको त्रिवेणी झल्किएको उक्त कार्यक्रममा जाजरकोटका कवि सदाशय गौतमले बाजी मारेका छन्। उनको ‘नयाँ युग रच्ने हामी नेपाली’ शीर्षकको कविताले प्रतियोगितामा प्रथम स्थान हासिल गर्‍यो। यस्तै, आयोजक शहर विराटनगरकी नानुमैया दाहालको ‘म विर्खे कामी हुँ’ कविताले द्वितीय स्थान प्राप्त गर्दा काठमाडौंका सुशील पौडेलको ‘मातृभूमिको आह्वान’ तृतीय र झापाका निकेश डाँगीको ‘भान्सा युद्ध’ कविताले सान्त्वना स्थान सुरक्षित गरे।

साहित्यिक ओजले भरिएको सो समारोहमा कोशी प्रदेशका तीन सिद्धहस्त साहित्यकारहरूलाई विशेष सम्मान समेत गरिएको थियो। नेपाली साहित्यको श्रीवृद्धिमा अनवरत योगदान पुर्‍याएका प्रा.डा. टंक न्यौपाने, बद्री विशाल पोखरेल र वसुन्धरा झालाई उनीहरूको साधनामय यात्राको कदर गर्दै ‘स्रष्टा सम्मान’ प्रदान गरियो।

कार्यक्रमकी प्रमुख अतिथि एवं चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गङ्गा सुवेदीले साहित्यलाई समाजको ऐना मात्र नभई युग परिवर्तनको सशक्त माध्यम भएको बताउनुभयो। “साहित्यले माया-प्रेम मात्र बोल्दैन, यसले त समाजका विकृति, सुशासन र युगको मागलाई पनि उत्तिकै प्रखर रूपमा प्रस्तुत गर्छ,” उहाँले भन्नुभयो।

आयोजक संस्थाका अध्यक्ष जीवन काफ्लेले सहकारीको भूमिका पैसाको बचत र ऋण प्रवाहमा मात्र सीमित हुनु हुँदैन भन्ने मान्यताका साथ यो कार्यक्रम गरिएको प्रस्ट पार्नुभयो। उहाँले भन्नुभयो, “सहकारी समाजको अभिन्न अङ्ग हो। सामाजिक उत्तरदायित्व बहन गर्दै कला, साहित्य र संस्कृतिको जगेर्ना गर्नु हाम्रो दायित्व भित्रै पर्छ।”

प्राज्ञ विवश पोखरेल, हरि कट्टेल र तीला लेकाली सम्मिलित निर्णायक मण्डलले विभिन्न मापदण्डका आधारमा उत्कृष्ट कविताहरूको छनोट गरेको थियो। देशैभरिका स्रष्टाहरूको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रमले विराटनगरको साहित्यिक साखलाई थप उचाइमा पुर्‍याएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds