लोड हुँदैछ...

मेनु

नेपाल–भारत सीमा स्तम्भ मर्मतमा सहमति, दशगजामा लगाइएका चियाका बोटसमेत हटाइयो

नेपाल–भारत सीमा स्तम्भ मर्मतमा सहमति, दशगजामा लगाइएका चियाका बोटसमेत हटाइयो

विराटनगर । नेपाल–भारत सीमामा रहेका सीमा स्तम्भहरूको अवस्था, मर्मत सम्भार तथा सीमा व्यवस्थापनका विषयमा नेपाली र भारतीय अधिकारीहरूबीच झापाको बिर्तामोडमा छलफल भएको छ।

बैठकले कमजोर तथा क्षतिग्रस्त सीमा स्तम्भहरूको संयुक्त रूपमा मर्मत गर्ने सहमति गरेको छ।

पूर्वी नेपालका विभिन्न स्थानमा रहेका सीमा स्तम्भहरू नदीको बहाव, बाढी तथा प्राकृतिक कारणले कमजोर बनेको र कतिपय ढलेको अवस्थाबारे छलफल गर्न दुवै देशका अधिकारीहरू भेला भएका हुन्। बैठकमा पछिल्लो तीन महिनाको अवधिमा निर्माण तथा मर्मत गरिएका सीमा स्तम्भहरूको अवस्थाबारे समेत समीक्षा गरिएको थियो।

छलफलमा नेपाल–भारत सीमा क्षेत्रको व्यवस्थापन, समन्वय, सुरक्षा तथा आपसी सहकार्यका विषयमा विस्तृत रूपमा विचारविमर्श भएको बताइएको छ। दुवै देशका अधिकारीहरूले सीमा क्षेत्रमा शान्ति, सुरक्षा र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

नापी विभागको आयोजनामा भएको बैठकमा झापा, इलाम, पाँचथर र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, नापी कार्यालयका प्रमुख तथा डिभिजन वन कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो। भारतीय पक्षबाट बिहारको किशनगञ्ज र पश्चिम बंगालको दार्जिलिङ जिल्लाका डिस्ट्रिक्ट मजिस्ट्रेट तथा सर्वेक्षण अधिकारीहरू सहभागी भएका थिए।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले यस्ता समीक्षा बैठकहरू नियमित रूपमा हुने गरेको बताउँदै यसपटक सीमा स्तम्भहरूको अवस्थामाथि केन्द्रित भएर छलफल भएको जानकारी दिए। उनका अनुसार बैठकपछि दुवै देशको संयुक्त सहभागितामा क्षतिग्रस्त सीमा स्तम्भहरूको मर्मत गर्ने सहमति भएको छ।

नापी विभागका वरिष्ठ नापी अधिकृत हरेराम यादवले नेपाल–भारत सीमा सम्बन्धी द्विपक्षीय फिल्ड कार्यअन्तर्गतको समीक्षा बैठक सम्पन्न भएको जानकारी दिए। उनका अनुसार सीमा क्षेत्रमा कुन–कुन स्थानका स्तम्भ कमजोर भएका छन्, खोलाको बहावका कारण कहाँ क्षति पुगेको छ भन्ने विषयमा दुवै पक्षले प्रतिवेदन प्रस्तुत गरेका थिए।

पछिल्लो समय नेपाल–भारत सीमासम्बन्धी विषय राष्ट्रिय बहसको केन्द्रमा रहेका बेला आयोजित उक्त बैठकमा सीमा विवादभन्दा पनि सीमा स्तम्भहरूको अवस्था र व्यवस्थापनका विषयमा केन्द्रित छलफल भएको प्रमुख जिल्ला अधिकारी गेलालले बताए।

यद्यपि, बैठकमा दशगजा क्षेत्रमा भइरहेको खेतीपाती र अतिक्रमणका विषयमा पनि चर्चा भएको स्रोतले जनाएको छ। त्यसको प्रभावस्वरूप झापाको कचनकवल गाउँपालिका–५ पाठामारीस्थित दशगजा क्षेत्रमा लगाइएका चियाका बोटहरू हटाइएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सुनकोशी चिया बगानले नेपालतर्फको दशगजा क्षेत्रमा लगाएका करिब ६० देखि ६५ वटा चियाका बोट संयुक्त सीमा गस्तीका क्रममा हटाइएको हो। उक्त चिया बगान दिलबहादुर थेबेको स्वामित्वमा रहेको बताइएको छ।

प्रहरी चौकी पाठामारी, बीओपी पाठामारी तथा भारतीय सशस्त्र सीमा बलको संयुक्त टोलीले सीमा स्तम्भ नम्बर ११४ नजिक लगाइएका चियाका बोटहरू हटाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।