विराटनगर । केही समयदेखि निरन्तर भइरहेको वर्षाका कारण कोशी प्रदेशका विभिन्न जिल्लामा सडक यातायात प्रभावित भएको छ । प्रि-मनसुन र स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रमा निरन्तर पानी परेपछि आएको बाढी र पहिरोका कारण मुख्य राजमार्गहरूमा अवरोध सिर्जना भएको हो ।
आज कोशी प्रदेशका मुख्य चार स्थानमा सडकको अवस्था जटिल देखिएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ स्थित पंखु खोलामा पहिरो गएका कारण मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । यो सडक गत जेठ २ गतेदेखि नै अवरुद्ध रहँदै आएको छ ।
यसैगरी, ईलाम नगरपालिका–९ स्थित पुवाखोलामा आएको बाढीका कारण मेची करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ । जेठ २८ गतेदेखि अवरुद्ध भएको यस खण्डको विकल्पका रूपमा हाल मेची राजमार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।
भोजपुर र पाँचथरमा भने सडक एकतर्फी रूपमा सञ्चालनमा रहेका छन् । भोजपुर नगरपालिका–५ बोखिम र पाँचथरको याङवरक गाउँपालिका–२ दोभानमा मध्य पहाडी लोकमार्ग बाढीका कारण प्रभावित भएको छ । यी दुवै स्थानमा अहिले एकतर्फी रूपमा सवारी साधन सञ्चालन भइरहेका छन् ।
लगातारको वर्षाले पहाडी जिल्लाका अन्य ग्रामीण सडकहरूमा पनि क्षति पुर्याएको छ । उत्तर–दक्षिण जोड्ने लाइफलाइनका रूपमा रहेका यी सडकहरू अवरुद्ध वा एकतर्फी हुँदा यात्रीहरूले सास्ती खेप्नु परिरहेको छ । सुरक्षा निकाय र सम्बन्धित कार्यालयहरूले सडक खुलाउने प्रयास गरिरहे पनि निरन्तरको वर्षा बाधक बनिरहेको छ । मौसम अझै सक्रिय रहेकाले यात्रा गर्दा सावधानी अपनाउन र सडकको अवस्था बुझेर मात्र निस्कन प्रशासनले अनुरोध गरेको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।