लोड हुँदैछ...

मेनु

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु भएको दाबी गर्दै विश्व राजनीतिमा नयाँ तरंग पैदा गरिदिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत एक विशेष सन्देश जारी गर्दै ट्रम्पले खामेनी अब नरहेको र यो घटना इरानी जनताका साथै विश्वका लागि ‘न्याय’ भएको बताएका हुन्।

खामेनीलाई ‘इतिहासकै क्रूर र दुष्ट पात्र’को संज्ञा दिँदै ट्रम्पले उनको अन्त्यसँगै दशकौंदेखि पीडित बनेका इरानी नागरिक र अमेरिकीहरूले राहत महसुस गर्ने उल्लेख गरेका छन्।

इजरायलसँगको गोप्य अपरेसन र अत्याधुनिक प्रविधि
राष्ट्रपति ट्रम्पका अनुसार अमेरिकी गुप्तचर निकाय र अत्याधुनिक ट्र्याकिङ प्रणालीले लामो समयदेखि खामेनीको सुइँको पाइरहेको थियो। इजरायलसँगको निकट समन्वय र कडा निगरानीका कारण खामेनी र उनीसँगै रहेका अन्य उच्च तहका नेताहरू बच्न सफल नभएको दाबी ट्रम्पले गरेका छन्। ट्रम्पले यस अपरेसनलाई निकै सफल र सटीक (पिनपोइन्ट) भएको संकेत गरेका छन्।

खामेनीको मृत्युलाई इरानी जनताका लागि ‘आफ्नो देश फिर्ता लिने सुनौलो अवसर’ भन्दै ट्रम्पले इरानी सेनालाई कडा चेतावनी समेत दिएका छन्। उनले भनेका छन्, “अहिले पनि उनीहरूसँग बाटो बदल्ने र उन्मुक्ति पाउने मौका छ, तर ढिलाइ गरेमा उनीहरूले मृत्यु मात्र प्राप्त गर्नेछन्।”

सैन्य कारबाही जारी रहने संकेत
इरानको महत्वपूर्ण हिस्सा एकै दिनमा ध्वस्त भएको दाबी गर्दै ट्रम्पले इरानमाथिको ‘पिनपोइन्ट’ बमबारी नरोकिने स्पष्ट पारेका छन्। मध्यपूर्वमा पूर्ण रूपमा शान्ति स्थापना नभएसम्म र अमेरिकाको रणनीतिक उद्देश्य पूरा नभएसम्म सैन्य कारबाही जारी रहने ट्रम्पको भनाइलाई उद्धृत गर्दै अलजजिराले समाचार सम्प्रेषण गरेको छ।

अहिलेलाई यो ट्रम्पको दाबी मात्र भए पनि यसले मध्यपूर्वको तनावलाई नयाँ मोडमा पुऱ्याउने निश्चित देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।