काठमाडौं । इरानमाथि संयुक्त राज्य अमेरिका र इजरायल ले सैन्य आक्रमण गरेपछि मध्यपूर्वको हवाई यातायातमा गम्भीर असर परेको छ।
आक्रमणलगत्तै हमाद अन्तर्राष्ट्रिय विमानस्थल, दुबई अन्तर्राष्ट्रिय विमानस्थल र अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएका छन्।
कतार, यूएई र वरपरका देशहरूको हवाई क्षेत्र आंशिक वा पूर्ण रूपमा प्रतिबन्धित भएपछि अन्तर्राष्ट्रिय उडानहरू रद्द तथा ढिला हुन थालेका छन्। यसको प्रत्यक्ष असर काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा परेको छ।
मध्यपूर्वका गन्तव्यमा उडान भर्न विमानस्थल पुगेका सयौं यात्रुहरू उडान स्थगित भएपछि अलपत्र परेका छन्। कतिपय यात्रु विमानस्थलमै रात कटाउन बाध्य भएका छन् भने केहीलाई एयरलाइन्सले होटल व्यवस्थापन गर्न सकेका छैनन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणले मध्यपूर्व क्षेत्रमा विकसित परिस्थितिलाई नजिकबाट नियालिरहेको जनाएको छ। प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार काठमाडौंमा सेवा दिइरहेका अन्तर्राष्ट्रिय एयरलाइन्सहरूसँग निरन्तर समन्वय भइरहेको छ र यात्रासम्बन्धी अद्यावधिक जानकारी समयमै सार्वजनिक गरिनेछ। प्राधिकरणले यात्रुहरूलाई सम्बन्धित वायुसेवाका आधिकारिक वेबसाइट, मोबाइल एप र सामाजिक सञ्जालमार्फत सूचना लिन आग्रह गरेको छ।
यता संयुक्त अरब इमिरेट्सस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। दूतावासले अनावश्यक आवागमन नगर्न, भीडभाडयुक्त स्थानबाट टाढा रहन र यूएई सरकार तथा नेपाली दूतावास/महावाणिज्य दूतावासले जारी गर्ने सुरक्षा निर्देशन पालना गर्न अपिल गरेको छ। आपतकालीन अवस्थाका लागि अबुधाबीस्थित दूतावास र दुबईस्थित महावाणिज्य दूतावासले सम्पर्क नम्बर र इमेल सार्वजनिक गरेका छन्।
उता इरानको राजधानी तेहरान लगायत केर्मानशाह, कुम, इस्फहान, तब्रिज र कराजमा विस्फोटका आवाजहरू सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। इजरायली रक्षा बलले आक्रमणअघि सर्वसाधारणलाई सैन्य संरचनाबाट टाढा रहन चेतावनी दिएको थियो। तेहरानस्थित इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनेई को कार्यालय आसपास र पूर्व राष्ट्रपति महमुद अहमदिनेझाद बस्ने भनिएको क्षेत्रमा पनि आक्रमण भएको विवरण बाहिरिएको छ, यद्यपि क्षतिको यकिन विवरण सार्वजनिक भइसकेको छैन।
मध्यपूर्वमा बढ्दो सैन्य तनावले केवल क्षेत्रीय सुरक्षामात्र होइन, अन्तर्राष्ट्रिय उडान, आपूर्ति श्रृंखला र श्रम गन्तव्य मुलुकहरूमा रहेका लाखौं आप्रवासी श्रमिकको दैनिकीमा पनि असर पार्ने देखिएको छ। नेपालका लागि मध्यपूर्व प्रमुख श्रम गन्तव्य भएकाले त्यहाँको अस्थिरताले अर्थतन्त्र र वैदेशिक रोजगारीमा समेत प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।