विराटनगर । तीन महिना अगाडि छोरी–ज्वाईको निम्तोमा अमेरिका गएका उदयपुरको बेलका नगरपालिका–९ रामपुर बजारका ५० वर्षीय छत्रबहादुर थापाले श्रीमती र छोरीको हत्या गरेका हुन् ।
छोरीले घुम्न बोलाएपछि श्रीमती बिन्दालाई साथ लिएर अमेरिका पुगेका उनले अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीको मान्तुवा क्षेत्रमा बस्ने छोरीको घरमा छोरी ३१ वर्षीया ममता थापा र श्रीमती ५१ वर्षीया विन्दा थापाको हत्या गरेका हुन् । सोमबार बिहान छत्रबहादुरले आफ्नै घरभित्र श्रीमती र जेठी छोरी ममतामाथि खुँडाले आक्रमण गरेका थिए। आक्रमणमा श्रीमती र छोरीको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।
श्रीमती र छोरीको हत्यापछि उनले ज्वाईं ३५ वर्षीय सन्तोषकुमार बस्नेतमाथि समेत हमला गरेको बताइएको छ । त्यसबीचमा स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थलमा पुगेर उनलाई नियन्त्रणमा लिन प्रयास गर्दा उनले नरोकेको र आक्रामक बनेपछि प्रहरीले गोली चलाएको थियो। गोली लागेर छत्रबहादुरको पनि घटनास्थलमै मृत्यु भएको बताइएको छ।
ज्वाईं सन्तोषको अवस्था गम्भीर रहेको जनाइएको छ । घटनाको कारण स्पष्ट भइसकेको छैन। स्थानीय स्रोतका अनुसार छत्रबहादुर अमेरिका जानुअघि नै मानसिक रूपमा अस्वस्थ थिए। बेलका नगरपालिकाका मेयर अशोक कार्कीका अनुसार उनले करिब एक वर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहेका थिए।
हाँसीखुसी अमेरिका गएका व्यक्तिबाट यस्तो क्रूर घटना घटेको खबरले बेलकाका स्थानीय अचम्भित छन् । घटना हुनुअघि श्रीमतीसँग सामान्य घरायसी विवाद भएको आशंका गरिएको छ। रिसको आवेगमा श्रीमतीमाथि प्रहार गरिएको र आमालाई बचाउन जाँदा छोरीमाथि पनि हमला भएको प्रारम्भिक सूचना आएको स्थानीयले बताएका छन् ।
ज्वाईं घरबाहिर हिउँ सफा गरिरहेका कारण सुरुमा घटनाबारे थाहा नपाएको र चिच्याहट सुनेपछि प्रहरीलाई खबर गरेको जनाइएको छ। छत्रबहादुरको पुरानो घर बेलका नगरपालिका–३ मा भए पनि पछिल्लो १५ वर्षदेखि वडा नम्बर ९ मा बस्दै आएका थिए। बसाइँसराइ नगरेका कारण काजपत्र भने पुरानै वडाबाट बनाइने गरेको वडा नम्बर ३ का वडाध्यक्ष टंकप्रसाद आचार्यले जानकारी दिएका छन्।
गाउँमा छत्रबहादुर मिलनसार, धेरै नबोल्ने र झैझगडा नगर्ने स्वभावका थिए। उनी व्यवसाय गर्दै आएका थिए, कहिले कुखुरा पालन त कहिले अन्य सानातिना व्यापारमा संलग्न हुन्थे। पछिल्लो समय व्यवसायमा घाटा बेहोरेपछि मानसिक समस्या बढेको हुनसक्ने आशंका छ ।
थापाका तीन सन्तानमध्ये कान्छी छोरी र छोरा उदयपुरमै छन्। बुबाआमा अमेरिका गएपछि कान्छी छोरीले एक महिनाअघि मात्र विवाह गरेकी थिइन्। आमाबुबा फर्केपछि माइतीमा टिकाटालो गर्ने तयारी भइरहेका बेला घटना भएको हो।
अमेरिकी अनलाइन एनबिसवासिङ्टन डटकमका अनुसार सोमबार बिहान म्यान्टुआ क्षेत्रमा पर्ने मार्गेट म्यानर अपार्टमेन्टमा सो घटना भएको हो। घटनामा एक वर्षका शिशुलाई भने कुनै चोट नलागेको र हाल बाल संरक्षण सेवाको संरक्षणमा राखिएको छ।
छिमेकीका अनुसार छत्रबहादुरले घटनाअघिल्लो दिनसम्म गाउँलेसँग भिडिओ कल गरी छोरीको टिकाटालो राम्ररी गरिदिन आग्रह गरेका थिए। तर, बिहेको रौनकको तयारी भइरहेका बेला घरमा शोक छाएको छ।
घटना यकिन रूपमा किन र कसरी भयो भन्नेबारे अमेरिकी सुरक्षा निकायको थप अनुसन्धान जारी रहेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।