विराटनगर । विराटनगर प्रज्ञा प्रतिष्ठानले आफ्नै कार्यालय भवनबाट औपचारिक रूपमा कार्य प्रारम्भ गरेको छ । भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित प्रतिष्ठानको कार्यालय महानगरका मेयर नागेश कोइरालाले मंगलबार उद्घाटन गरे ।
विराटनगर–३ स्थित वडा कार्यालय परिसरमा सञ्चालनमा आएको कार्यालयले अब प्रतिष्ठानका कार्यक्रम र गतिविधिलाई थप व्यवस्थित बनाउने जनाएको छ । मेयर कोइरालाले भाषा, साहित्य, कला र संस्कृतिको संस्थागत विकास महानगरको प्राथमिकतामा रहेको बताए ।
विराटनगरभित्र रहेका विविध भाषिक, साहित्यिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि प्रतिष्ठानमार्फत योजनाबद्ध रूपमा काम भइरहेको कोइरालाको दावी छ । राष्ट्रियस्तरका भव्य कार्यक्रम आयोजना गरी विराटनगरको पहिचान स्थापित गर्न उनले प्रतिष्ठानलाई आग्रह गरेका छन् ।
प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलले कार्यालय व्यवस्थापनमा सहयोग गरेकोमा महानगरप्रति आभार व्यक्त गरे । उनका अनुसार संस्थाको दीर्घकालीन स्थायित्व र प्रभावकारी सञ्चालनका लागि आफ्नै कार्यालय महत्त्वपूर्ण आधार बनेको छ ।
प्रतिष्ठानका सदस्यसचिव दिनेशराज सुवेदी (दिङ्लाली कान्छो)ले निकट भविष्यमा राष्ट्रियस्तरको कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए । यसअघि प्रतिष्ठानले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा विशेष कार्यक्रम आयोजना गरिसकेको छ । साथै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा कोशी प्रादेशिक ललितकला प्रदर्शनीसमेत सम्पन्न गरेको थियो ।
प्रतिष्ठानले सांस्कृतिक क्षेत्रलाई संस्थागत ढंगले अघि बढाउने लक्ष्य राखेको छ । आफ्नै कार्यालयबाट सेवा सुरु भएसँगै प्रतिष्ठानका गतिविधि थप सक्रिय र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।