सुनसरी । अपन स्वर्ग नेपाल कला संस्कृति बहुभाषिक चलचित्र संघले सुनसरीको इनरुवामा आयोजना गरेको सांस्कृतिक परिवर्तन (एएसएन) अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करणमा पत्रकार जयकृष्ण यादव र ममता मृदुल सम्मानित भएका छन् ।
गोरखापत्र दैनिकका इनरुवा समाचारदाता यादवलाई पत्रकारिता विधामा र गोरखापत्रकै भाषा सम्पादक ममता मृदुललाई साहित्य विधामा अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको हो । शनिबार आयोजित भव्य समारोहमा यादव र मृदुलसहित विभिन्न विधामा योगदान पुर्याउने नेपाल र भारतका ८३ जना व्यक्तित्वहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका कृषि, उद्योग तथा सहकारी मन्त्री हाजी इसराईल मन्सुरीले अवार्ड प्रदान गरेका थिए । सो अवसरमा मन्त्री मन्सुरीले यस्ता कार्यक्रमले सामाजिक सेवा र व्यावसायिक क्षेत्रमा लागेका विभिन्न भाषाभाषीका साहित्यकार तथा कलाकारहरूलाई प्रोत्साहन मिल्ने र देशको विकासमा सार्थक सन्देश दिने बताए ।
आयोजक संस्थाका अध्यक्ष झोटन मेहताका अनुसार, ओझेलमा परेका प्रतिभाहरूलाई उजागर गर्ने र उनीहरूको योगदानको कदर गर्ने उद्देश्यले गत वर्षदेखि यो अवार्ड कार्यक्रम सुरु गरिएको हो । यस वर्ष सञ्चार, संगीत, साहित्य, कृषि, चिकित्सा, कानुन, समाजसेवा, चलचित्र निर्माण लगायतका विधामा उत्कृष्ट कार्य गर्नेहरूलाई छनोट गरिएको थियो ।
समारोहमा वरिष्ठ सल्लाहकार एस.एन. मेहताले १५ जनालाई मायाको चिनो र ४५ जना सरोकारवालाहरूलाई सम्मान पत्र प्रदान गरे । सम्मानित हुने अन्य व्यक्तित्वहरूमा पत्रकार देवराज यादव, साहित्यकारहरू रमेन्द्र कोइराला, लीलानाथ सिलवाल, युवराज पराजुली, देवी प्रसाद चौधरी, रोहित थारु, पर्शुराम चौधरी र प्रसिना अधिकारी लगायत छन् ।
कार्यक्रममा इनरुवा नगरपालिका–५ का वडा अध्यक्ष अनिल कुमार पोखरेल, संस्थाका उपाध्यक्षद्वय रमेन्द्र कोइराला र भागवत मण्डल, सचिव विशाल पण्डित, कार्यालय सचिव पवित्रा मेहता, सहसचिव जुनु बुढाथोकी र सदस्य कृष्ण पराजुली लगायतको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।