लोड हुँदैछ...

मेनु

ललितकलामा चित्रकलामाथि कविता लेखन, सुनिए २० कवि

ललितकलामा चित्रकलामाथि कविता लेखन, सुनिए २० कवि

विराटनगर । विराटनगरमा जारी ५ दिने ‘कोसी प्रादेशिक ललितकला प्रदर्शनी–२०८२’ को तेस्रो दिन चित्रकलामाथि लेखिएका कविता वाचन भएको छ । शनिबार कोसी प्रदेशभरिका विभिन्न भाषाका २० कविले लेखेका कविता वाचन गरेर कला प्रदर्शनीलाई कवितामय बनाए । शुक्रबार २० जना चित्रकारले प्रदर्शनीस्थलमा चित्र कोरेका थिए । चित्रकारले कोरेका ती चित्रमाथि २० कविले कविता लेखेका हुन् ।

चित्रकलासँगै भएको कविता लेखनपछि आज मञ्चमा ती कविताहरू वाचन गरियो । चित्रकारले कोरेका २० चित्रकलालाई अगाडि राखेर कविले आ–आफूले लेखेका कविता सुनाए । आयोजकले चित्रकला र कविता लेखनका लागि सबैलाई समावेश गरी २० जना चित्रकार र २० कवि छनौट गरेका थियो, जहाँ चित्रकारले कोरेको चित्रमाथि एक कविले कविता रचना गरेका हुन् । शुक्रबार चित्रकला र कविता लेखन सकिएपछि भोलिपल्ट प्रदर्शनीस्थलमा चित्रकार र चित्रकलालाई साक्षी राखेर कविहरूले आ–आफ्ना कविता सुनाए ।

म अघिल्तिरको क्षितिज भएर
सधैं एउटा घाम निस्कन्छ
र हराउँछ ।

पोतेर आउँछ उसले
धर्तीको अनुहारभरि
लालित्य ।

ठीक त्यस्तै रातो बोकेर शिरमा
आमाहरूले
सजाइरहनु भएको छ ।
सुमसुम्याइरहनु भएको छ
युगौंदेखि सृष्टिको अभिभारा ।

उस्तै गरी
छाइरहेछ अँध्यारो
युगौंदेखि
बोकेर पितृसत्ताको अनुहार ।

(घामको लालित्य/रमेशचन्द्र अधिकारी)

कविता लेखन तथा वाचन गर्ने २० जना कविमध्ये राजेन्द्र गुरागाईंले बंगाली, सरिता तुलाधरले नेवारी, कारी मण्डलले मैथिली, पूजा बहारले भोजपुरी, सुजाता राईले राई बान्तवा भाषामा कविता लेखन तथा वाचन गरेका थिए ।

चित्रकारितामा सन्जय सयल, अरुणा हिङ्माङ, कुन्दन श्रेष्ठ, प्रेम केसी, दत्त प्रमोद, प्रकाश चौधरी, क्षितेन शेर्पा, गणेश लामा, सन्जु थापा मगर, मायूषा, यशोधा कुमारी सिंह सहित २० चित्रकार सहभागी थिए । यी चित्रकारले कोरेका चित्रमाथि धिरज राई, अन्जु अश्रु, मिनकुमार नवोदित, निर्मला नेपाल लगायत कविले कविता लेखेका थिए । चित्रकला र कविता लेखनमा महिला र पुरुष गरी १०–१० जना सहभागी थिए ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मुख्य आयोजक रहेको ५ दिने ललितकला प्रदर्शनीको विराटनगर प्रज्ञा प्रतिष्ठान सहआयोजक रहेको छ । बिहीबारदेखि सुरु भएको प्रदर्शन सोमबार सकिनेछ । प्रदर्शनीमा प्रदेशभरिका १६० स्रष्टाका चित्रकला, वास्तुकलादेखि विभिन्न कलाकृति राखिएको छ । प्रदर्शनीस्थलमा राखिएका कलाकृतिमध्ये उत्कृष्टलाई छनौट गरी राष्ट्रियस्तरको प्रतिस्पर्धाका लागि पठाइने नेपाल ललितकला प्रतिष्ठान कोसी प्रदेश समन्वय समिति संयोजक प्राज्ञ सन्जय बान्तवाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।