लोड हुँदैछ...

मेनु

विराटनगरमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु

विराटनगरमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु

विराटनगर । पाँचदिने ‘कोसी प्रादेशिक ललितकला प्रदर्शनी–२०८२’ विराटनगरमा सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजना र विराटनगर प्रज्ञा प्रतिष्ठानको सहआयोजनामा बिहीबारदेखि विराटनगरको शनिहाटस्थित मारवाडी सेवा सदनमा चित्रकला तथा मूर्तिकला प्रदर्शनी सुरु भएको हो ।

प्रदर्शनीको उद्घाटन प्रमुख अतिथि कोसी प्रदेशका सामाजिक विकासमन्त्री रामकुमार महतोले गरेका थिए । ५ दिनसम्म चल्ने प्रदर्शनीलाई चित्रकला, मूर्तिकला, लोककला, हस्तकलाको उत्सवको नाम दिइएको छ ।

उद्घाटन समारोहमा कोसी प्रदेशका ४ जना दिग्गज मूर्तिकतार तथा चित्रकारलाई विशेष सम्मान अर्पण गरियो । पाँचथरका मूर्तिकार रनधोज नेम्वाङ ‘रङ्गसाङ’लाई मरणोपरान्त सम्मान अर्पण गरिएको हो । उनका नातिले सम्मानपत्र ग्रहण गरेका थिए । सम्मानित हुने अन्य स्रष्टामा शिवनारायण पण्डित, अगमलाल राजवंशी र सुबोधचन्द्र लाल (एमसी सुमन) छन् । उनीहरू सबैलाई कार्यक्रमका प्रमुख अतिथि मन्त्री महतो, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठनाका कुलपति नारद मणि हार्तम्छालीले सम्मान अर्पण गरेका थिए ।

प्रदर्शनीमा कोसी प्रदेशभरिबाट २ सयभन्दा बढी हस्तकला, कलाकृति राखिएको छ ।प्रदर्शनीमा राखिएका उत्कृष्ट चित्रकला तथा तस्बिर छनौट गरी तिनलाई राष्ट्रियस्तरको प्रतिस्पर्धाका लागि पठाइने ललितकलाका प्राज्ञ चन्द्र रानाहँछाले जानकारी दिए ।प्रदर्शनीको दोस्रो दिन चित्रकला कार्यशाला र चित्रमाथि कविता लेखन मुख्य आकर्षण हुनेछ भने तेस्रो दिन ती कविताको वाचन कार्यक्रम छ ।

चौथो दिन विराटनगर आसपासका विद्यालय तथा कलेजका विद्यार्थीले सामूहिक रूपमा प्रदर्शनी अवलोकन गर्नेछन् । प्रदर्शनीमा आयोजकले सकेसम्म धेरै अवलोकनकर्ता ल्याउने लक्ष्य राखेको छ ।उद्घाटन कार्यक्रम नेपाल ललितकलाप्रतिष्ठान कोसी प्रदेश समन्वय समिति संयोजक प्राज्ञ सन्जय बान्तवाको सभापतित्वमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।