लोड हुँदैछ...

मेनु

हसिनाको पतनपछिको निर्वाचन : बंगलादेशमा नयाँ सत्ताका लागि आज मतदान हुँदै

हसिनाको पतनपछिको निर्वाचन : बंगलादेशमा नयाँ सत्ताका लागि आज मतदान हुँदै

काठमाडौं । सन् २०२४ मा भएको भीषण जनविद्रोहका कारण तत्कालीन प्रधानमन्त्री शेख हसिना सत्ता छाडेर भारत पलायन भएपछि बंगलादेशमा आज पहिलोपटक आम निर्वाचन भइरहेको छ। बंगलादेशी सञ्चारमाध्यमका अनुसार देशभर मतदान सुरु भइसकेको छ र यो स्थानीय समयअनुसार अपराह्न ४ः३० बजेसम्म जारी रहनेछ। नयाँ सरकार चयनका लागि देशका १२ करोड ७७ लाखभन्दा बढी मतदाताहरू चुनावी प्रक्रियामा सहभागी भइरहेका छन्।

सन् २०२४ अगस्ट ५ का दिन सरकारी कर्मचारीका सन्तानलाई दिइने आरक्षणविरुद्ध विद्यार्थीहरूको आन्दोलनले उग्र रूप लिएपछि १५ वर्षदेखि सत्तामा रहेकी शेख हसिना हेलिकप्टर चढेर भारत पलायन भएकी थिइन्। करिब १४ सय जनाको ज्यान जाने गरी भएको सो रक्तपातपूर्ण आन्दोलन र हसिना सरकारको पतनपछि नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा गठन गरिएको अन्तरिम सरकारले यो निर्वाचन गराएको हो। ३५० सदस्यीय संसद्‌मा प्रत्यक्ष निर्वाचित हुने ३०० सिटका लागि मतदान भइरहेको छ भने यसपटक पहिलोपटक विदेशमा रहेका बंगलादेशीहरूले पनि हुलाकमार्फत मतदान गर्न पाउने व्यवस्था गरिएको छ।

लामो समय सत्ता चलाएकी हसिनाको पार्टी अवामी लिगलाई प्रतिबन्ध लगाइएको यस निर्वाचनमा मुख्यगरी दुई शक्तिहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ। अग्रस्थानमा देखिएको बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) लाई जमात(ए)इस्लामीले कडा टक्कर दिइरहेको छ। आज निर्वाचनका साथै देशमा महत्त्वपूर्ण जनमतसंग्रह पनि भइरहेको छ। गत वर्षको जुलाईमा अन्तरिम सरकार र आन्दोलनकारी विद्यार्थीहरूबीच भएको सम्झौता बमोजिम संविधान संशोधन र नयाँ कानुन निर्माण जस्ता विषयमा जनमतसंग्रह गरिएको हो।

जितको प्रमुख दाबेदार मानिएको बीएनपीको नेतृत्व तारिक रहमानले गरिरहेका छन्, जो पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा हुन्। ६० वर्षीय रहमान १७ वर्ष लामो लन्डनको निर्वासित जीवन बिताएर हालै मात्र स्वदेश फर्किएका हुन्। यो पार्टी उनका पिता तथा बंगलादेश स्वतन्त्रताका मुख्य सैन्य कमान्डर जियाउर रहमानले स्थापना गरेका थिए। सन् १९८१ मा जियाउर रहमानको हत्यापछि उनकी पत्नी खालिदा जियाले पार्टी सम्हालेकी थिइन् र दुई कार्यकाल प्रधानमन्त्री बनेकी थिइन्।

हसिना सरकारको पालामा भ्रष्टाचारको आरोपमा सन् २०१८ देखि नजरबन्दमा रहेकी खालिदा जिया हसिनाको सत्ता ढलेपछि मात्र मुक्त भएकी थिइन्। हसिनाको शासनकालमा निकै दबाबमा परेको बीएनपी अहिले पुनः प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित भएको छ। लामो समयको राजनीतिक अस्थिरता र हिंसात्मक आन्दोलनपछि भइरहेको यो निर्वाचनले बंगलादेशलाई कुन दिशामा लैजान्छ भन्ने विषयमा अहिले विश्वकै नजर टिकेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।