लोड हुँदैछ...

मेनु

एमाले क्षेत्रीय संयोजक महावीर यादव नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

एमाले क्षेत्रीय संयोजक महावीर यादव नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

सर्लाही। नेकपा एमाले सर्लाही निर्वाचन क्षेत्र नं ३ (ख) का क्षेत्रीय संयोजक महावीर यादव नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। उनलाई नेकपाका वरिष्ठ नेता, पूर्व उपप्रधानमन्त्री तथा पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले पार्टीमा स्वागत गर्दै प्रवेश गराएका हुन्।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवले विगतमा करिब १० वर्ष नेपाली कम्युनिस्ट पार्टीमा रहेर काम गरेको र केही असन्तुष्टिका कारण एमालेमा गएको बताए। एमालेमा करिब ५ वर्ष बिताएको उल्लेख गर्दै उनले जहाँ रहे पनि सत्य, इमान्दारी र मेहनतका साथ काम गर्ने बानी रहेको बताए।

उनले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै अब सबैको साझा लक्ष्य विजय रहेको बताए। “विजय भएपछि मात्रै पार्टी बलियो हुन्छ, हामी सबै बलियो हुन्छौं,” उनले भने, “यदि विजय भएन भने सबै आशा–अपेक्षा खेर जान्छन्।”

यादवले बाँकी रहेको करिब एक महिनाको समयलाई अत्यन्त महत्वपूर्ण बताउँदै नेता–कार्यकर्ता, युवा, महिला तथा सबै शुभेच्छुकलाई समयको सदुपयोग गर्दै अभियानमा जुट्न आग्रह गरे। “आवश्यक परे खानाको समय घटाऔँ, सुत्ने समय घटाऔँ, तर काम गर्ने समय बढाऔँ,” उनले भने।

पार्टी प्रवेशलाई आफ्नो लागि पुरानो घर र पुराना साथीहरूसँग पुनः जोडिने खुसीको क्षण’ भन्दै यादवले एकता, सहयोग र मेहनतले विजय सुनिश्चित हुने विश्वास व्यक्त गरे। उनले सबैलाई आत्मविश्वासका साथ अघि बढ्न र मेहनतमा कुनै कमी हुन नदिन अनुरोध गरे।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।