लोड हुँदैछ...

मेनु

मुक्तक प्रतिष्ठानद्वारा चार साहित्यकार पुरस्कृत

मुक्तक प्रतिष्ठानद्वारा चार साहित्यकार पुरस्कृत

विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले मुक्तक दिवसका अवसरमा नेपाली साहित्यका चार जना विशिष्ट साधकलाई पुरस्कृत गरेको छ । २०८२ सालका लागि घोषित विभिन्न स्मृति पुरस्कारहरू शनिबार विराटनगरमा आयोजित एक समारोहका बीच समर्पण गरिएको हो ।

प्रतिष्ठानले ‘नरनाथ–नन्दकुमारी पोखरेल स्मृति पुरस्कार’ राशिरू १५ हजार बाट बहुआयामिक साहित्यकार एवम् समालोचक प्राडा गोविन्दराज भट्टराईलाई पुरस्कृत गरेको छ । नेपाली साहित्य, अनुवाद र प्राज्ञिक क्षेत्रमा उनले पुर्‍याएको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो । त्यस्तै, ‘नन्दलाल दाहाल स्मृति साहित्य पुरस्कार’ राशिरू १५ हजारले समालोचना र बालसाहित्यमा सक्रिय प्राज्ञ डा. कौशिला रिसाललाई अर्पण गरिएको छ ।

पाँच दशकदेखि नेपाली वाङ्मयको श्रीवृद्धिमा लागेका वरिष्ठ साहित्यकार मधु पोखरेललाई ‘छमनादेवी रामप्रसाद पोखरेल स्मृति पुरस्कार’ प्रदान गरिएको छ । उक्त पुरस्कार राशी ११ हजार रहेको छ । मुक्तक साहित्यका विशिष्ट साधक शिव अधिकारी ‘इलामे जेठो’ लाई ‘माधव–नर्मदा पोखरेल स्मृति साहित्य पुरस्कार’ पुरस्कार प्रदान गरिएको छ । उक्त पुरस्कार राशि ११ हजार रहेको छ ।

प्रमुख अतिथि प्राडा. टङ्कप्रसाद न्यौपाने, विशेष अतिथि प्राज्ञ विवश पोखरेल, वरिष्ठ साहित्यकार बलराम पोखरेल, प्राध्यापक कविराज न्यौपाने, सरला चापागाईं, प्राज्ञ गङ्गा सुवेदी लगायतले पुरस्कृत व्यक्तित्वहरूलाई सम्मानपत्र र नगद प्रदान गरेका थिए ।

समारोहमा प्रमुख अतिथि न्यौपानेले नेपाली साहित्यको उन्नयनमा यस्ता पुरस्कार र सम्मानले दरिलो खम्बाको रूपमा काम गर्ने बताए । ‘साहित्यका विभिन्न विधाको उत्थानका लागि संस्थागत प्रयास र स्रष्टाको सम्मान हुनु सुखद पक्ष हो,’ उनले भने ।

कार्यक्रममा पुरस्कृत स्रष्टाहरूको व्यक्तित्व र कृतित्वबारे कविहरू विन्दु दाहाल ुमुकदर्शकु, नानुमैया दाहाल, गोपाल निर्भीक र लक्ष्मी पोखरेलले चर्चा गरेका थिए । प्रतिष्ठानका कोशी प्रदेश अध्यक्ष बाबुराम पोखरेलले अन्य साहित्यिक विधाजस्तै मुक्तकको पनि अनुसन्धानात्मक विकास र गहन छलफल हुनुपर्नेमा जोड दिए । मदन भण्डारीले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रदेशभरका स्रष्टाहरूको बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।