विराटनगर । नेकपा (एमाले)ले औपचारिक रूपमा आगामी निर्वाचनको विरोध गरिरहे पनि भित्रभित्रै चुनावी तयारी थालेको संकेत नेता गोकुल बास्कोटाले गरेका छन्। मंगलबार बिहान सामाजिक सञ्जालमार्फत नेता बास्कोटाले दलहरूले खुसुखुसुु समानुपातिक उम्मेदवारको नामावली संकलन गरिरहेको बताएका छन् ।
बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चुनाव हुँदैन पनि भन्छन्, दलहरू फेरि आफैँ खुसुखुसु समानुपातिक सदस्यको नाम पनि बटुल्दै रहेछन्। कुन पत्याउनु हो ? लाखे१ ’ बास्कोटाले कुन–कुन दलले नाम संकलन गरिरहेका हुन् भन्ने स्पष्ट नखुलाए पनि उनको संकेत आफ्नै दल एमाले र अन्य प्रमुख दलहरूतर्फ रहेको बुझिन्छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले घोषणा गरेको फागुन २१ गतेको निर्वाचन नहुने दाबी गर्दै सार्वजनिक रूपमा यसको विरोध गर्दै आएका छन्। तर, बास्कोटाको यो अभिव्यक्तिले एमाले बाहिर विरोधको राजनीति गरे पनि आन्तरिक रूपमा भने निर्वाचनको तयारीमा जुटिसकेको देखाउँछ।
यसअघि शनिबार काठमाडौँमा आयोजित सभामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि एमालेले भित्रभित्रै निर्वाचनको तयारी गरिरहेको दाबी गरेका थिए। प्रचण्डको सोही दाबीलाई बास्कोटाको पछिल्लो अभिव्यक्तिले थप बल पुऱ्याएको छ।
हाल नेपाली कांग्रेस र अन्य केही राजनीतिक दलहरूले घोषित रूपमै समानुपातिक उम्मेदवारको नामावली संकलन प्रक्रिया अघि बढाइसकेका छन्।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।