लोड हुँदैछ...

मेनु

कांग्रेसको १५औँ महाधिवेशन : डा. सुनील शर्माद्वारा सहमहामन्त्रीमा दाबेदारी, नदिए ‘विद्रोह’ गर्ने चेतावनी

कांग्रेसको १५औँ महाधिवेशन : डा. सुनील शर्माद्वारा सहमहामन्त्रीमा दाबेदारी, नदिए ‘विद्रोह’ गर्ने चेतावनी

विराटनगर । नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले पार्टीको आगामी १५औँ महाधिवेशनमा आफू सहमहामन्त्री पदको सशक्त दाबेदार रहेको घोषणा गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता शर्माले आगामी महाधिवेशनमा आफूले सहमहामन्त्री पदमा उम्मेदवारी दिने स्पष्ट पारेका हुन् ।

आफ्नो दाबेदारी प्रस्तुत गर्दै नेता शर्माले पार्टीका शीर्ष नेताहरूलाई आफूलाई नजरअन्दाज नगर्न चेतावनी समेत दिएका छन्। उनले यदि आफूलाई सहमहामन्त्रीको उम्मेदवार बन्नबाट रोकिएमा आफ्नै ढंगले महामन्त्री वा उपसभापति पदमा उम्मेदवारी दिने दाबी गरे ।

‘म अहिलेसम्म डा. शेखर कोइराला पक्षको मान्छे हुँ, यसमा लजाउनुपर्ने कुरा छैन,’ उनले भने, ‘मैले आगामी महाधिवेशनमा सहमहामन्त्री दिनुहोस् भन्छु। म अरूजस्तो झुटो बोल्दिन। म माथिबाट तल झर्ने मान्छे होइन, तलबाट माथि जाने हो। मेरो जीवन नै त्यस्तै छ। सुकुम्बासीको छोरो अहिलेसम्म यहाँ आइपुगेको छु। सहमहामन्त्री नदिए मेरो उम्मेदवारी महामन्त्री वा उपसभापतिमा जान्छ।’

नेता शर्माले पार्टीका शीर्ष नेताहरूले दोस्रो तहका नेताहरूमाथि दमन गर्न खोजे छुट्टै प्यानल बनाएर विद्रोहमा उत्रिने चेतावनी समेत दिए । पार्टीभित्र युवा र सक्षम नेताहरूलाई अवसर दिनुको साटो दबाउने प्रवृत्ति हाबी भए आफूले त्यसको डटेर सामना गर्ने उनको तर्क थियो।

वर्तमान महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै शर्माले भने, गगन थापाले चलाएको पार्टी हामीले देखिसक्यौँ। अब मैले चलाएको पार्टी जनतालाई देखाउने इच्छा छ।’ उनले पार्टीलाई नयाँ गति र ऊर्जा दिनका लागि आफ्नो नेतृत्व आवश्यक रहेको जिकिर गरे।

डा. शर्मा पछिल्लो समय पार्टी नेतृत्वको कार्यशैलीप्रति कडा आलोचना गर्दै आइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।