लोड हुँदैछ...

मेनु

मूल्य घट्दा विराटनगरका पम्पमा लाग्यो ताला : उपभोक्ता मारमा, ‘मूकदर्शक’ बन्दै प्रशासन

मूल्य घट्दा विराटनगरका पम्पमा लाग्यो ताला : उपभोक्ता मारमा, ‘मूकदर्शक’ बन्दै प्रशासन

विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेर आम जनतालाई राहत दिन खोजे पनि विराटनगरका उपभोक्ताले भने त्यसको उल्टो सास्ती भोग्नुपरेको छ ।

मूल्य घट्ने सुइँको पाएदेखि नै तेल उठाउन छाडेका पेट्रोल पम्प सञ्चालकहरूले बुधबार ‘नो स्टक’ को बोर्ड झुण्ड्याएर पम्प बन्द गर्दा बजारमा इन्धनको हाहाकार मच्चिएको छ । तर, यस्तो गम्भीर कृत्रिम अभाव सिर्जना हुँदा पनि स्थानीय प्रशासन र नियमनकारी निकाय भने ‘मूकदर्शक’ बनेको आरोप लागेको छ ।

नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य घटाएको छ । मूल्य घट्ने हल्ला सोमबारदेखि नै चलेका कारण विराटनगरका पम्प सञ्चालकहरूले मंगलबार निगमबाट तेल खरिद गरेनन् । पहिले नै महँगो दरमा खरिद गरेको मौज्दात तेल सस्तोमा बेच्नुपर्दा घाटा हुने भन्दै उनीहरूले बुधबार पम्प नै बन्द गरिदिएका हुन् ।
बिहानैदेखि डिजेल र पेट्रोल लिन पम्प पुगेका उपभोक्ताहरू पेट्रोल र डिजेल छैन भन्ने बोर्ड देखेपछि रित्तै हात फर्किन बाध्य भएका छन् । ‘सरकारले मूल्य घटाएको समाचार सुन्दा खुसी लागेको थियो, तर यहाँ त पम्प नै बन्द गरेर जनतालाई दुःख दिने काम भइरहेको छ,’ विराटनगरकी स्कुटी चालक जुनु भट्टराईले भनिन् ।

प्रशासनको फितलो अनुगमन, निगमको रमिते भूमिका
बजारमा इन्धनको कृत्रिम अभाव हुँदा पनि अनुगमन गर्ने जिम्मेवारी पाएको स्थानीय प्रशासन र आयल निगमको सक्रियता भने कागजी मात्र देखिएको छ । नेपाल आयल निगम प्रादेशिक कार्यालय कोशीका प्रमुख पुष्कर कार्कीले अनुगमन गरेर कारबाही थालिएको दाबी गरे पनि बजारको अवस्था भने फरक छ ।
बसपार्क एरिया लगायतका क्षेत्रमा अनुगमन भइरहेको र दिउँसो २ बजेपछि सहज हुने आश्वासन निगमले दिएको छ । तर, मूल्य घट्ने सूचना कसरी पहिले नै चुहियो र व्यवसायीले कसरी मिलेमतोमा तेल उठाउन छाडे भन्ने विषयमा निगम र प्रशासन मौन छन् । व्यवसायीको यो ुसिन्डिकेट र दादागिरीलाई प्रशासनले टुलुटुलु हेरेर बस्नुले नियामक निकायको नियतमाथि नै प्रश्न उठाएको छ ।

निगमले मूल्य समायोजन गरेपछि अब विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १९४.५० र डिजेल १९२.५० कायम भएको छ । यस्तै, सुर्खेत र दाङमा पेट्रोल १९६ र डिजेल १९४ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।