काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रुपन्देहीको भैरहवा जानका लागि चितवनको भरतपुरतर्फ प्रस्थान गरेका छन् । भैरहवा विमानस्थलमा बाक्लो कुहिरो लागेर उडान प्रभावित भएपछि लामिछाने शुक्रबार दिउँसो श्री एयरलाइन्सको विमानमार्फत चितवन उडेका हुन् ।
भैरहवाको मौसम नखुलेपछि लामिछाने भरतपुरसम्म विमानमा जाने र त्यहाँबाट गाडीमार्फत रुपन्देही पुग्ने तय भएको छ । रास्वपामा भर्खरै प्रवेश गरेका ‘जेनजी’अगुवा पुरुषोत्तम यादवका अनुसार लामिछाने दिउँसो १ः३० बजेको श्री एयरको जहाजबाट चितवनतर्फ लागेका हुन् ।
‘भैरहवाको मौसम नखुलेपछि रवि दाइ १ः३० बजेको श्री एयरको जहाजको टिकटमा उड्नुभएको छ’, यादवले भने ।
यसअघि लामिछाने बिहान ७ः५५ बजेको बुद्ध एयरको फ्लाइटबाट भैरहवा जाने तयारीमा थिए । तर, कुहिरोका कारण भिजिबिलिटी कम भएपछि उनी बिहान ७ बजेदेखि नै काठमाडौं विमानस्थलमा रोकिएका थिए ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि न्यायिक हिरासतमा रहेका लामिछानेलाई बिहीबार (पुस ३ गते) उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिगो रकम बराबरको धरौटीमा छाड्ने आदेश दिएको थियो । सोही आदेशअनुसारको कानुनी प्रक्रिया पूरा गर्न उनी नक्खु कारागारबाट निस्किएर रुपन्देही जिल्ला अदालत जान लागेका हुन् ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।