लोड हुँदैछ...

मेनु

मनोनित भएर पद लिन्नँ, मैदानमै डट्छु : सुरेन्द्र पाण्डे

मनोनित भएर पद लिन्नँ, मैदानमै डट्छु : सुरेन्द्र पाण्डे

विराटनगर । नेकपा (एमाले) को ११औँ महाधिवेशनमा प्रभावशाली नेता सुरेन्द्र पाण्डेका लागि चुनावी परिणाम सुखद रहेन । महासचिव पदका प्रत्यासी रहेका पाण्डेले उक्त पदमा मात्र नभई केन्द्रीय सदस्यमा समेत पराजय भोग्नुपरेको छ ।

निर्वाचनको अन्तिम नतिजा अनुसार पाण्डेले महासचिवमा ९९९ मत प्राप्त गरे भने केन्द्रीय सदस्यमा ९६१ मत मात्रै ल्याए । केन्द्रीय सदस्यमा विजयी हुनका लागि कम्तीमा १११५ मत आवश्यक पर्ने भए पनि पाण्डेले सो आँकडा पार गर्न सकेनन् । महासचिवमा निर्वाचित शंकर पोखरेलले १२२८ मत प्राप्त गर्दा पाण्डे पराजित भएका हुन् ।

चुनावी परिणाम सार्वजनिक भएपछि नेता पाण्डेले आफूले पाएको मतप्रति कुनै गुनासो नरहेको र सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन् । उनले पद प्राप्त गर्न नसके पनि देशभरबाट आएका प्रतिनिधिहरूको विश्वास र माया पाउनुलाई नै आफ्नो मुख्य सफलता ठानेका छन् । ‘मैले महासचिवमा प्रतिस्पर्धा गरेको हुँ, साथीहरूले मलाई विश्वास गरेर दिनुभएको मतमा म पूर्ण सन्तुष्ट छु,’ पाण्डेले भने, ‘कहिलेकाहीँ चुनावी अंकगणितले पद निर्धारण गर्छ, तर विचार र निष्ठाको राजनीति जारी रहन्छ ।

एमालेको विधान अनुसार केन्द्रीय कमिटीमा सदस्यहरू मनोनित गर्ने व्यवस्था छ । पाण्डेले चुनाव हारे पनि पार्टी नेतृत्वले उनलाई मनोनित गरेर केन्द्रीय कमिटी वा स्थायी कमिटीमा ल्याउने सम्भावना थियो । तर, उनले आफू मनोनित भएर पदमा बस्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् । आफ्नो स्वाभिमानी अडान व्यक्त गर्दै पाण्डेले भने, ‘म ग्रासरुट (भुइँतह) बाटै पार्टीको काम गरेर आएको कार्यकर्ता हुँ । मलाई मनोनित गरेर पद दिनुपर्दैन । म फेरि पनि पार्टीको मैदानमै रहेर डट्नेछु ।’

उनले आफू पदमा रहे पनि वा नरहे पनि पार्टीको सही नीति, विचार र कार्यक्रममा दृढतापूर्वक उभिने प्रतिवद्धता जनाएका छन् । गलत कुराको सधैँ प्रतिवाद गरिरहने बताउँदै उनले कार्यकर्ताहरूलाई विचलित नहुन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds