काठमाडौं । नेपाली काँग्रेसका नेता रहेका पूर्वसांसद सन्तोष चालिसेविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
विघटित प्रतिनिधि सभाका सदस्य तथा अर्थ समितिका सभापति रहिसकेका चालिसे गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर पनि हुन् । उनीविरुद्ध अख्तियारले ३ करोड ६८ लाख ४७ हजार ४ सय ६१ रुपैयाँ बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारले बिगोबमोजिम जरिवाना, स्रोत नखुलेको सम्पत्ति जफत तथा कैद सजायको माग गरेको छ । गैरकानुनी रूपमा आर्जित सम्पत्तिबाट लाभान्वित भएको आरोपमा उनकी पत्नी मन्दिरा, छोरा सागर र सञ्जीव तथा बुहारी प्रमिलालाई समेत जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ।
चालिसे २०७४ सालमा गोकर्णेश्वर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–३ बाट कांग्रेसका तर्फबाट सांसद बनेका थिए।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।