लोड हुँदैछ...

मेनु

निर्वाचनको विकल्प छैन : महामन्त्री थापा

निर्वाचनको विकल्प छैन : महामन्त्री थापा

सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन २१ गतेका लागि घोषित प्रतिनिधि सभा सदस्य निर्वाचनको विकल्प नरहेको बताएका छन्। सर्लाही सदरमुकाम मलङ्गवामा शनिबार पत्रकारसँग कुरा गर्दै उनले वर्तमान सरकारलाई फागुन २१ मा चुनाव गर्नुभन्दा अर्को विकल्प नरहेको बताएका हुन्।

अहिले संविधानलाई ठुलो क्षति पुगेको अवस्था रहेकाले फागुन २१ को निर्वाचनले त्यो क्षति थप बढ्न नदिने कुराको सुनिश्चित गर्ने कांग्रेस महामन्त्री थापाको भनाइ छ। कांग्रेसले औपचारिक निर्णय गरेरै निर्वाचन तयारीका काम अघि बढाइसकेको उनले बताए। कांग्रेस महामन्त्री थापाले भने, “दल चुनावका लागि तयार रहेको अवस्था छ। चुनावका सन्दर्भमा अहिले जे जति संशय व्यक्त भइरहेका छन्, त्यसलाई चिर्ने जिम्मेवारी सरकारको हो।”

शुक्रबार मात्रै प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको सर्वदलीय बैठकमा जेनजी आन्दोलनका क्रममा कैदीबन्दी फरार भएका र प्रहरीका हातहतियार लुटिएकाले त्यसबाट निर्वाचन सुरक्षामा कुनै प्रकारको असर पर्न नदिन सरकारको ध्यानाकर्षण गराइएको उनले बताए।

थापाले सरकारलाई कुनै नयाँ तथा पुराना दल वा समूहलाई विभेद नगरी समान व्यवहार गरेर निर्वाचनको वातावरण बनाउने काममा लाग्न आग्रह गरे। कांग्रेस महामन्त्री थापाले परिस्थितिबस फागुन २१ को निर्वाचनअघि नै पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने अवस्था आएको बताए।

उनले महाधिवेशनलाई लिएर अब पार्टीभित्र कुनै मतभेद र अलमल नरहेको दाबीसमेत गरे। थापाले महाधिवेशनबाट नयाँ नीति, नयाँ सन्देश र नयाँ नेतृत्व लिएर निर्वाचनमा सरिक हुने बताए। उनले भने, “यो पटक समयको चाप त छ तर छोटो अवधिमै भए पनि पार्टीलाई नयाँ नेतृत्व दिएर निर्वाचनमा सहभागी हुन्छौँ। बिचमा केही समय खेर फाले पनि अहिले भने निर्वाचन र महाधिवेशन दुवैलाई सँगसँगै अघि बढाएका छौँ।”

महामन्त्री थापाले १५औँ महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने घोषणा गरे। उनले १५औँ महाधिवेशनबाट आफूले पार्टीको नेतृत्व गर्ने विश्वास गर्दै केही दिनभित्रै नेता, कार्यकर्तासँग मत माग्न देश दौडाहमा निस्कने तयारीमा रहेको जानकारी दिए।

थापाले आफू फागुन २१ को निर्वाचनमा काठमाडौँबाटै उम्मेदवार बन्ने प्रस्ट पारेका छन्। यसअघिकै निर्वाचनमा सर्लाहीको क्षेत्र नं। ४ का डा। अमरेशकुमार सिंहविरुद्ध थापाले चुनाव लड्ने चर्चा रहेको थियो। आफूलाई यहाँबाट चुनाव लड्न प्रस्ताव आइरहे पनि आआफ्ना ठाउँबाटै चुनाव लड्ने पार्टीभित्रको परम्परा अनुसार काठमाडौँबाटै उम्मेदवार बन्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।