अरिहन्त जुट मिलमा भीषण आगलागी, आठवटा दमकल परिचालन

अरिहन्त जुट मिलमा भीषण आगलागी, आठवटा दमकल परिचालन

विराटनगर । सुनसरीको दुहबी नगरपालिका–८ सोनापुरस्थित हरिहन्त मल्टि फाइबर्स प्राली जुट मिलमा आज दिउँसो भीषण आगलागी भएको हो।

विराटनगरका उद्योगी राजकुमार गोल्छाले सञ्चालन गर्दै आएका उक्त जुट मिलमा करिब ४:३५ बजे लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । आगलागीले व्यापक क्षति गरेको अनुमान गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काका अनुसार मिलभित्र ठूलो मात्रामा धागो जुट भएकोले आगो तीव्र रूपमा फैलिएको छ। उनले भने, “धागो भएकाले सजिलै सल्किने सामग्री अधिक मात्रामा रहेकाले आगो भित्री भागबाट तीव्र रूपमा फैलिएको छ, जसले नियन्त्रणमा कठिनाइ भएको हो।” क्षतिको विस्तृत विवरण अहिले अनुमान गर्न नसकिने पनि उनले जानकारी दिए।

आगो नियन्त्रणका लागि सुनसरी प्रहरीले २५ जना प्रहरी परिचालन गरेको छ । विराटनगर, दुहबी, देवाङ्गञ्ज, रामधुनी, सुन्दरहरैचा, बराहक्षेत्र र धरानबाट आठवटा दमकलले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् । दमकल तथा सुरक्षाकर्मीको संयुक्त प्रयासमा आगो नियन्त्रण कार्य भइरहेको प्रहरीले जनाएको छ।

आगलागीको कारणबारे यकिन हुन बाँकी छ। विद्युत् सर्टका कारण आगो लागेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीको भनाइ छ।

आगो पूर्ण रूपमा नियन्त्रणमा आएपछि विस्तृत विवरण सङ्कलन गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्