विवादित पुष्पराज श्रेष्ठलाई एमाले ‘नेसनल भोलेन्टियर्स फोर्स’को जिम्मा, घोषणा सभामै दिए धम्की

विवादित पुष्पराज श्रेष्ठलाई एमाले ‘नेसनल भोलेन्टियर्स फोर्स’को जिम्मा, घोषणा सभामै दिए धम्की

काठमाडौं । नेकपा एमालेले शुक्रबार घोषणा गरेको ‘नेसनल भोलेन्टियर्स फोर्स’को कमान्ड सात वटा फौजदारी मुद्दा खेपेका पुष्पराज श्रेष्ठलाई सुम्पिएको छ।

काठमाडौंको बबरमहलस्थित कार्की बेङ्क्वेटमा आयोजित घोषणा सभामा श्रेष्ठलाई संयोजकको जिम्मेवारी दिइएको हो।

घोषणा सभामा बोल्दै श्रेष्ठले पार्टीले दिएको जिम्मेवारी एक रत्ति पनि मर्न नदिने दाबी गर्दै जस्तोसुकै अवस्थामा पनि भिड्न तयार रहेको चेतावनी दिए । उनले भने, “पार्टीले जुन आशा भरोसा गरेर जिम्मेवारी दिएको छ, त्यसलाई एक रत्ति पनि मर्न दिइने छैन। हामी जस्तो अवस्थामा पनि टाउकोमा रातो कफन बाँधेर सडकबाट भने पनि, जहाँबाट पनि भिड्न तयार छौं।”

श्रेष्ठले सरकारले एमाले नेताहरूको घरलाई लोकेसन ट्र्याक गरेको आरोप लगाउँदै आफूहरूले पनि लोकेसन हेरेर बसेको बताए । “जसरी तपाईंहरूले लोकेसन ट्र्याक गर्नुभएको छ, हामीले पनि तपाईंहरूको लोकेसन हेरेका छौं। हामी पनि तपाईंहरूको घर–घर घेर्नेछौं,” उनले भने।

मन्तव्यमा उनले सरकारलाई नसच्चिए कडा प्रतिकार गर्ने चेतावनीसमेत दिए। “यदि तपाईंहरू सच्चिएनौं भने त्यसको प्रतिकार हामी पनि गर्छौं,” श्रेष्ठले चेतावनी दिए।

यसअघि एमालेको युवा दस्ता ‘युथ फोर्स’मा आबद्ध रहेका सिन्धुलीका ४३ वर्षीय श्रेष्ठलाई जेनजी आन्दोलनपछि गठन भएको ‘भोलेन्टियर्स फोर्स’को नेतृत्व दिइएको हो। प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (CRS) अनुसार श्रेष्ठविरुद्ध चार वटा ज्यान मार्ने उद्योग, दुई वटा सार्वजनिक अपराध तथा एक वटा अपहरण र शरीर बन्धक मुद्दा दर्ता छन्।

श्रेष्ठ अपराध आरोपमा पटक–पटक पक्राउ परेका व्यक्ति हुन्। २०६३ सालमा सिन्धुलीका गगन सिंहमाथि ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको मुद्दाबाट सुरु भएको उनको आपराधिक यात्रा २०७५ सम्म विभिन्न घटनामा दोहोरिएको छ। २०७५ मा ठेकदारलाई ज्यान मार्ने धम्की दिएको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई रातोपुलबाट पक्राउ गरेको थियो।

श्रेष्ठ विरुद्ध २०७५ मा सार्वजनिक अपराध, २०७३ मा ज्यानमार्ने उद्योग,२०६३ मा ज्यान मार्ने उद्योग, २०६४ मा पनि ज्यान मार्ने उद्योग, २०६७ मा सार्वजनिक अपराध र २०७० मा अपराध तथा शरीर बन्धक मुद्दा लागेको थियो । त्यसबाहेक २०६५ मा श्रेष्ठमाथि ज्यानमार्ने उद्योग अन्तर्गत प्रहरीले मुद्दा चलाएको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्