विराटनगर । विराटनगर महानगरपालिकाको राजश्व आम्दानीमा भारी गिरावट आएको छ । महानगरले चालु आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा ३ करोड ६८ लाख ३४ हजार रुपियाँले गिरावट आएको हो ।
पहिलो चौमासिकको अन्तिम दिन कात्तिक ३० गतेसम्म महानगरपालिकाले १४ करोड २७ लाख ५४ हजार ६३१ रुपियाँ राजश्व आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा महानगरपालिकाले १७ करोड ९५ लाख ८८ हजार ७२२ रुपियाँ राजश्व संकलन गरेको थियो । यो अघिल्लो वर्षको तुलनमा साढे ३ करोड रुपियाँ बढी अर्थात करिब २१ प्रतिशतको गिरावट हो ।
गत भदौ महिनामा भएको जेनजी समूहको आन्दोलन र त्यसपछिका घटनाक्रमका कारण राजस्व संकलन नराम्ररी प्रभावित भएको महानगरपालिकाले जनाएको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी समूहको आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण झण्डै ४० दिनसम्म महानगरपालिकाको कामकाज पूर्ण रूपमा ठप्प भएको थियो । दसैंको बिदापछि मात्र कार्यालय खुलेर राजस्व संकलन लगायतका सेवाहरू सुचारु भएका थिए । लामो समय कार्यालय बन्द हुँदा करदाताले समयमा कर तिर्न पाएनन्, जसको सीधा असर समग्र राजस्वमा परेको हो ।
राजस्व महाशाखाका प्रमुख सरोज गौतमले भने, ‘आन्दोलन र बन्दले गर्दा महानगरको राजस्वमा ठूलो खाडल सिर्जना भएको छ । हामीले सेवा सुचारु गरे पनि अपेक्षित रूपमा संकलन बढ्न सकेको छैन ।’
चालु आर्थिक वर्षको पहिलो चौमासिकमा सबैभन्दा बढी सम्पत्ति करबाट ४ करोड ८ लाख ४३ हजार ३५० रुपियाँ उठेको छ । त्यस्तै, बहाल करबाट महानगरले २ करोड ५८ लाख ३३ हजार ७९७ रुपियाँ आम्दानी गरेको छ । व्यवसाय करबाट २ करोड ६५ लाख २७ हजार ६२० रुपियाँ संकलन गरेको थियो ।
अन्य शीर्षकहरूमा नक्सा पास दस्तुर, सिफारिस दस्तुर लगायतबाट पनि आम्दानी भएपनि सबै शीर्षकहरू गत वर्षको तुलनामा प्रभावित भएको देखिएको छ ।
आन्दोलनका क्रममा विराटनगर महानगरपालिकाको कार्यालयमा आगजनी समेत भएको थियो, जसले कार्यालयमा पूर्ण क्षति पुगेको थियो । यतिबेला भने कार्यालयको पुनर्निर्माण कार्य जारी छ ।
राजस्व संकलनमा आएको गिरावटलाई पूर्ति गर्न महानगरपालिकाले नयाँ योजनाहरू बनाउने जनाइएको छ । प्रमुख गौतमले भने, ‘घट्दै गएको राजस्व आम्दानी बढाउन आवश्यक रणनीति बनिरहेको र करको दायरा विस्तार गर्ने र करदातामैत्री वातावरण सिर्जना गरी बक्यौता असुलीमा तीव्रता दिइने उनले बताए ।

