विराटनगर । लगानीकर्ताहरु लगानीप्रति सकारात्मक बन्न नसक्दा कर्जा लगानी बढ्न सकेको छैन । जसले गर्दा बैंकहरुले निरन्तर निक्षेपमा दिने ब्याजदर घटाउँदै लगेका छन् ।
बैंकहरुले मंसिर महिनाका लागि ब्याजदर थप घटाएका छन्। सञ्चालनमा रहेका २० मध्ये ११ वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार कात्तिकको तुलनामा मंसिरमा निक्षेपको ब्याजदर घटेको हो। नौ बैंकले व्यक्तिगत निक्षेपमा दिने अधिकतम ब्याजदर स्थिर राखेका छन् ।
कात्तिक र मंसिर दुवै महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ६ प्रतिशत नै छ। तर, कात्तिकमा औंसत ब्याजदर ५.२ प्रतिशत रहेकोमा मंसिरमा यस्तो औंसत ब्याजदर ५.०४ प्रतिशत छ।
अहिले सबैभन्दा धेरै ब्याज ग्लोबल आइएमइ बैंकबाट पाइने भएको छ। यो बैंकले ६ प्रतिशत दिने भएको छ। स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट सबैभन्दा कम ४।७ प्रतिशत मात्रै ब्याजदर पाइने भएको हो।
हाल बैंकहरूसँग करिब ११ खर्ब भन्दा धेरै कर्जा दिन मिल्ने रकम रहेको छ। कर्जा नगएपछि पछिल्लो समय बैंकहरूले तीन प्रतिशत र २.७५ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा लगेर पैसा राखिरहेका छन्। हाल यसरी राखिएको रकम आठ खर्ब २४ अर्ब रूपैयाँ पुगेको छ।

