–नानि भारद्वज
रै वर्ष अगि एउटा गाउँमा किसानको घरमा पालेको बिरालीले जुम्लिया ढाडे पाई। ती बिराला किसानकै घरमा हुर्किए। एक पटक किसानको परिवारका सबैजना तीर्थाटन गर्न भनी गए। उनीहरु धेरै दिनसम्म घुमफिर गरे। घरमा कोही नभएपछि बिराला भोकले प्याक्प्याक्ति परे। भोकले ब्याकुल भएका ती दाजुभाइले किसानको घरमा राखेको कुराउनी चोरे। कसैले नदेख्ने ठाउँ (खोलाको डिल) मा कुराउनी बाँडेर खाने भनी गए।
बाँडेर खाने बेला ‘मलाई थोर भो ! तलाईं धेर भो !’ भनेर ङ्यार्र…! ङुर्र….! गर्दै झगडा गर्न थाले। हुँदा हुँदा यो दृष्य एउटा बाँदरले रुखको टुप्पोबाट हेरिरहेको थियो। बाँदर बिस्तारै रुखबाट ओर्लेर बिराला भएका ठाउँमा पुग्यो र उनीहरुको झगडा हुनुको कारण सोध्यो। उसले झगडाको कारण बुझे पछि मुसुमुसु हाँस्दै ‘ल ! ल ! झगडा नगर, म यो कुराउनी तिमीहरु दुवैलाई बराबरी बाँडिदिन्छु’ भन्यो।
उसले एउटा पसलबाट तराजु पनि चोरेर ल्यायो र जोख्नथाल्यो। तराजुमा दुवैतर्फ कुराउनी हाल्दा एकातर्फ अलिकति बढी हुन्थ्यो। त्यो बढीभएको भागपटीबाट अलिकति चिमोटेर बाँदरले आफ्नो मुखमा क्वाप्प हाल्यो। त्यसो गर्दा अर्कोपटी गह्रौं हुन्छ र तराजु उता ढल्किन्छ। फेरि उता ढल्केकोबाट चुँडेर क्वाप्प मुखमा हाल्छ। एवम्रितले बराबरी तौलमा आउनै नपाइ भोका बिरालाले हेर्दाहेर्दै तराजुको कुराउनी सकियो।

