विराटनगर । मधेश प्रदेशमा नेकपा एमाले नेतृत्वमा गठन भएको सरकारमा सहभागी भएकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रदेश सांसदको पद गुम्ने भएको छ ।
एमाले नेता सरोजकुमार यादवको सरकारमा मन्त्री नियुक्त भएकी कञ्चन बिच्छाको सांसद पद र पार्टीको साधारण सदस्यता समेत नरहनेगरी कारबाही गर्न राप्रपाले सिफारिस गरेको छ ।
पार्टी अनुशासन समितिले बिच्छाको पद र साधारण सदस्यता समेत नरहनेगरी कारबाही गर्न सिफारिस गरेको हो । यसअघि उनलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।
पार्टीको नीति, सिद्धान्त र हित विपरीत हुनेगरी गैर जिम्मेवारपूर्वक एवं अनुशासनहीन कार्य गरेको भन्दै राप्रपा अनुशासन समितिले उनीसँग स्पष्टीकरण सोधेको थियो । अध्यक्ष राजेन्द्र लिङ्देनले मधेश प्रदेश सरकारबाट फिर्ता हुन निर्देशन दिएका थिए । उनी पार्टीको सल्लाहविना मधेश सरकारको मन्त्री नियुक्त भएको राप्रपाले जनाएको छ ।
राप्रपा अनुशासन समितिकी अध्यक्ष रोशन कार्कीको अध्यक्षतामा बिहिबार बसेको बैठकले विच्छालार्ई सांसदबाट फिर्ता बोलाउने र पार्टीको साधारण सदस्य समेत नरहने गरी बर्खास्त गर्न सिफारिस गरेको हो । रापपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार अनुशासन समितिको निर्णय अब बस्ने कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेपछि लागू हुनेछ ।
विच्छाले मन्त्रीबाट फिर्ता हुन राप्रपाले दिएको निर्देशन पनि अवज्ञा गरेकी छन् । राप्रपाबाट मधेस प्रदेशको एक्ली सांसद उनी एमाले नेतृत्वको विवादित सरकारमा मन्त्री भएकी थिइन् ।
