विराटनगर । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ ।
अघिल्लो कारोबार दिन घटेको बजार यस दिन हल्का सुधार हुँदै १.१३ अंकले वृद्धि भई २,५४५.७३ विन्दुमा पुगेको हो ।
यस दिन सेन्सेटिभ इन्डेक्स ०.१५ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.०१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०६ अंकले घटेको छन् । नेप्से बढेपनि यस दिन कारोबार रकम भने अघिल्लो दिनभन्दा घटेको छ ।
बुधबार ३ अर्ब ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बिहीबार ३ अर्ब ४९ करोड ९८ लाख २१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । ३२९ स्टकका ७६ लाख ५ हजार कित्ता शेयर ५० हजार ६२१ पटक कारोबार भएको हो ।
यस दिन ५ स्टक सकारात्मक सर्किट लेभलमा पुगेका छन्। तीमध्ये माबिलुङ इनर्जी, श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन, सागर डिष्टिलरी, बुङ्गल हाइड्रो र बन्दीपुर केबलकार एण्ड टुरिजमका शेयर सर्किटमा पुगेका हुन् । त्यस्तै, रुरु जलविद्युत परियोजनाको शेयरमूल्य करिब १० प्रतिशत र दरमखोला हाइड्रो इनर्जीको ७ प्रतिशत बढेको छ ।
यस दिन नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ४.८२ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा हिमालयन पावर पार्टनर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ६ करोड ८० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। दोस्रोमा हिमालयन डिष्टिलरी करिब १४ करोड रुपैयाँ, र तेस्रोमा यूनियन हाइड्रोपावर करिब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
बजारका १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको र ६ उपसमूहको घटेको छ । बैंकिङ, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त, म्युचुअल फन्ड र व्यापार उपसमूहमा सामान्य सुधार देखिएको छ ।
