लोड हुँदैछ...

मेनु

दुःखको सारथी : करिम अन्सारी

दुःखको सारथी : करिम अन्सारी

विराटनगर । सात वर्षको उमेरमा आमा गुमाए । दश वर्षमा घर छाडे र सडकपेटीलाई नै आफ्नो ओछ्यान बनाए । आज ३७ वर्षको उमेरमा उनी करोडौँका मालिक मात्र होइनन्, सयौं गरिब र दुःखीहरूको आशाको दियो बनेका छन् । यो कथा हो करिम अन्सारीको हो । जसले आफ्नो अँध्यारो अतीतबाट अरूको दुःखमा सहयोग गरिरहेका छन् ।

अन्सारी कुनै बेला एक छाक भातका लागि सडकम हात पसार्थे । आफ्ना लागूऔषध प्रयोगकर्ता साथीहरुसँग सडकमै सुत्थे । आज तिनै अन्सारी शोकसँग जुधिरहेका सयौं परिवारको आँसु पुछ्नका लागि आफ्नो कमाइ निःस्वार्थ भावले बाँडिरहेका छन् ।

कुनै पनि धर्म वा समुदाय नभनी, हिन्दु, मुस्लिम, क्रिश्चियन जोसुकैको मृत्युमा मलामी बोक्न साढे ३ वर्षदेखि निःशुल्क बस सेवा दिइरहका करिम अन्सारी एक यस्ता व्यक्ति हुन् जसको जीवनको कथा कुनै फिल्मको पटकथाभन्दा कम छैन । सडकमा भोकभोकै मागेर खाने बालकदेखि चारवटा बसको मालिक र एक निःस्वार्थ समाजसेवी बन्नसम्मको उनको यात्रा संघर्ष, पीडा र मानवताको अनुपम उदाहरण हो ।

विराटनगर–१ मा जन्मेका करिमको बाल्यकाल सुखद थिएन । जब उनी केवल सात वर्षका थिए, उनको जीवनमा नयाँ मोड लियो । च्यूरा व्यापार गरेर घर चलाउने उनकी आमाको कोशी अस्पतालमा उपचारका क्रममा निधन भयो । आमाको मृत्युपछि उनको परिवारमा आर्थिक संकट आइलाग्यो । पत्नी वियोगको पीडाले उनका बुबा मानसिक रूपमा विक्षिप्त बने र काम गर्न नसक्ने अवस्थामा पुगे ।

त्यसपछिका दिनहरु सम्झँदै करिम भन्छन्, ‘दुश्मनको घरमा पनि त्यस्तो नहोस् । हामीसँग खानलाई केही थिएन । समाजले दिएको उब्रेको भात, बासी भात खाएर बाँचेका थियौँ ।’ यही गरिबी र अभावले उनलाई औपचारिक शिक्षाबाट वञ्चित बनायो । उनी एक कक्षा पनि पढ्न पाएनन् ।

करिब १० वर्षको उमेरमा कुनै घटनाक्रममा उनले बुबाको कुटाइ खाए । थप कुटाइ खानबाट बच्न उनी घरबाट भागे । कहाँ जाने कुनै टुङ्गो थिएन । हिँड्दा–हिँड्दै उनी इटहरी पुगे । त्यहाँ उनको सडक जीवन सुरु भयो । भोक मेटाउन उनले टेम्पोमा सहचालक (खलासी) को काम पाए । जहाँ दिनको ३० रुपैयाँ मात्र कमाइ हुन्थ्यो । त्यो पैसाले मुश्किलले एक छाक टथ्र्यो र रात सडकपेटीमै बित्थ्यो ।
करिमले सडकमा अनेक हण्डर खाए । काम पाउन पनि कमिशन र सिफारिस चाहिने तीता अनुभवहरु सँगाले । कहिले रिक्सा चलाए, कहिले माइक्रोबस र बसमा खलासी बने । सन् २००४ मा इराकमा १२ नेपालीको हत्या भएपछि देशैभरि मच्चिएको आन्दोलनको रापले उनलाई पनि छोयो । इटहरीमा आन्दोलनकारीले मुस्लिम समुदायलाई निशाना बनाउँदा उनी र उनका बुबामाथि पनि आक्रमण भयो, जसकारण उनीहरु भागेर विराटनगर फर्कनुप¥यो ।

विराटनगर फर्केर पनि उनको संघर्ष रोकिएन । उनले यातायात क्षेत्रमै पसिना बगाइरहे । कामप्रतिको लगनशीलता र इमान्दारिताले उनलाई बिस्तारै अगाडि बढायो । तर उनको मनमा एउटा सपना थियो—आफ्नै गाडी किन्ने । पैसा थिएन, धितो राख्ने सम्पत्ति थिएन । तर, उनले हिम्मत हारेनन् ।

वित्तीय संस्थाहरुबाट ऋण लिएर, अनेकौं बाधा–अड्चन पार गर्दै उनले २०६७ सालमा ३८ लाखमा पहिलो बस किने । त्यो दिन उनको जीवनको सबैभन्दा ठूलो सफलता थियो । त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेन । कडा मेहनत र व्यवस्थापकीय कौशलले उनले एउटा बसबाट दुईटा, तीनटा हुँदै चारवटा बसको मालिक बन्न सफल भए ।

करिम एक सफल यातायात व्यवसायी बनिसकेका थिए । तर २०७९ सालको एक घटनाले उनको जीवनको उद्देश्य नै परिवर्तन गरिदियो । एक दिन उनको बस मलामी लैजानका लागि बुक भयो । घाटबाट फर्किएपछि मलामी पक्षले बसको भाडा तिर्न चन्दा उठाइरहेको दृश्य उनले देखे । त्यो दृश्यले उनको मन छियाछिया भयो । उनले आफू बाल्यकालमा हुँदा आफूले मागेर खाएको सम्झिए । ‘त्यो पैसा हातमा लिँदा मलाई दुई रात निद्रा लागेन,’ उनी भन्छन्, ‘मलाई मेरो बाल्यकालको याद आयो, जहाँ मैले मागेर खानुपरेको थियो । आज पनि मान्छेले मलामी लैजान चन्दा उठाउनुपर्ने अवस्था रहेछ भनेर मलाई असह्य भयो ।’ त्यही रात उनले संकल्प गरे ‘अब विराटनगरमा कसैले पनि मलामी लैजान पैसाको चिन्ता गर्नुपर्ने छैन ।’

त्यस दिनदेखि उनले आफ्नो एउटा बस पूर्ण रूपमा निःशुल्क मलामी सेवाका लागि समर्पित गरे । उनको यो सेवाले आज सयौं परिवारलाई दुःखको घडीमा ठूलो राहत दिएको छ । अहिलेसम्म उनले ७४३ पटक मलामीलाई सेवा दिइसकेका छन् ।

करिमको सेवा मलामी बसमा मात्र सीमित छैन । उनले आफ्नो समुदायका करिब ५० जना गरिब बालबालिकालाई विद्यालय आउजाउ गर्न निःशुःल्क बसको व्यवस्था पनि गरिदिएका छन् । ‘म त पढ्न पाइनँ, तर शिक्षाको अभावमा कुनै पनि बच्चाको भविष्य अन्धकार नहोस् भन्ने मेरो चाहना हो,’ उनी भन्छन् ।

यो सेवा चलाउन उनलाई मासिक करिब एक लाख रुपैयाँ खर्च हुन्छ । जुन उनी आफ्ना अन्य बसहरुको कमाइबाट व्यवस्थापन गर्छन् । कतिपयले उनको सेवामाथि प्रश्न पनि गर्छन्, ‘यसलाई कुनै आईएनजिओले पैसा दिएको होला’, ‘यसको केही स्वार्थ छ ।’ तर करिम यस्ता आलोचनाबाट विचलित हुँदैनन् । उनी भन्छन्, ‘जुन मान्छेको सोच नै गलत छ, उसले राम्रो काम पनि देख्दैन । मलाई ईश्वरले दिएको हो, म समाजलाई नै फिर्ता गर्दैछु । मरेर लाने कोही होइन ।’

सडकको धुलोमा लडिबुडी गर्दै, भोकसँग पौँठेजोरी खेल्दै हुर्किएका करिम अन्सारी आज धेरैका लागि प्रेरणाका स्रोत बनेका छन् । उनी भन्छन्, ‘धन हुनु र मन हुनुमा धेरै फरक छ । धनले मान्छेलाई स्वार्थी बनाउन सक्छ, तर मनले मान्छेलाई संसारकै धनी बनाउँछ ।’

करिमले अहिलेसम्म आफ्नो घर बनाएका छैनन् । अर्काको जग्गामा घर बनाएका उनलाई घर र जग्गा जोड्न समस्या होइन । तर, आफू सेवा कर्ममा लागेको कारण घर जग्गा नजोडेको उनी बताउँछन् । ‘मलाई केही करोडको घर जग्गा जोड्न समस्या होइन । तर, मैले मेरो घरलाई भन्दा सेवालाई प्राथमिकतामा राखेको छु,’ उनी भन्छन् । करिमका ३ सन्तान र श्रीमती छन् । आफू पढ्नका लागि कक्षा नै प्रवेश नगरेका करिम आफ्ना सन्तानलाई भने पढ्न चाहेसम्म पढाउने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।