एमाले मोरङको पार्टी कार्यालय बनाउन जनप्रतिनिधिको तलबमाथि ‘लेबी’

एमाले मोरङको पार्टी कार्यालय बनाउन जनप्रतिनिधिको तलबमाथि ‘लेबी’

विराटनगर । ‘कार्यकर्ताको पसिना र श्रमदानले जलेको पार्टी कार्यालयलाई पहिलेभन्दा भव्य बनाउँछौं’ – यो नेकपा एमाले मोरङका नेताहरूले गत भदौमा पार्टी कार्यालयमा आगजनी भएपछि दिएको भावनात्मक अभिव्यक्ति थियो। तर, यो आदर्शवादी नारालाई तिलाञ्जली दिँदै एमाले मोरङले अन्ततः आफ्नै जनप्रतिनिधिहरूको तलबमाथि अनिवार्य आर्थिक भार थमाउने निर्णय गरेको छ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीमा परेको पार्टी कार्यालय पुनर्निर्माणका लागि श्रमदान गर्ने घोषणा हावादारी सावित भएको छ। आइतबार विराटनगरको कञ्चनजंघा पार्टी प्यालेसमा बसेको पार्टीका पदाधिकारी र जनप्रतिनिधिहरूको संयुक्त बैठकले ‘सहयोग’को नाममा अनिवार्य रूपमा रकम सङ्कलन गर्ने निर्णय गरेकोएमाले मोरङका उपाध्यक्ष सागर थापाले बैठकले पुनर्निर्माणका लागि रकम माग्ने निर्णय गरेको स्वीकार गरे। ‘हामीले भत्केको घरको पुनर्निर्माणमा सहयोग गर भनेर हात फैलाएका छौं,’ थापाले भने। तर, यो ‘हात फैलाइ’ स्वैच्छिक नभई दररेट नै तोकेर अनिवार्य गरिएको छ।

पार्टीको निर्णयअनुसार, मेयर र उपमेयरहरूले न्यूनतम १० हजार, वडा अध्यक्षहरूले ५ हजार र कार्यपालिका सदस्यहरूले ३ हजार रुपैयाँ तिर्नुपर्नेछ। त्यस्तै, जिल्ला समन्वय समितिका पदाधिकारीहरूका लागि ५ हजार र जिल्ला कमिटी सदस्यहरूका लागि १ हजार रुपैयाँको ‘लेबी’ तोकिएको छ। जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई र उपप्रमुख उषा झा नै क्रमशः एमाले मोरङका अध्यक्ष र उपसचिव हुन्। अध्यक्ष राईले यसअघि नै १५ हजार रुपैयाँ सहयोग गरिसकेका छन् ।

विगतमा प्रदेश सरकारबाट ‘मदन स्मृति प्रतिष्ठान’को नाममा अनुदान लिएर निर्माण गरिएको यो भवन पुनर्निर्माणका लागि अब पार्टीले आफ्नै जनप्रतिनिधिको खल्तीमा नजर लगाएको हो। पुनर्निर्माणका लागि फर्निचरसहित करिब एक करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

एमाले मोरङले कात्तिक २९ गते मोटरसाइकल ¥यालीमार्फत शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ। पार्टीका सचिव सोमराज थापाले ¥यालीको तयारी भइरहेको जानकारी दिए ।
यसैबीच, केही जनप्रतिनिधिले भने पार्टीको निर्णयअघि नै सहयोग गरेका छन्। विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले आफ्नो एक महिनाको तलब बराबर २७ हजार रुपैयाँ दिइसकेको बताए। ‘कार्यालय मेरै वडामा पर्छ र जग्गा खरिदमा पनि म संलग्न भएकाले विशेष माया छ,’ उनले भने।

नेकपा एमाले मोरङमा ९ जना पालिका प्रमुख, ११ जना उपप्रमुख र आइतबारको बैठकमा ६४ जना वडा अध्यक्ष उपस्थित थिए ।