विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित मनमोहन प्राविधिक विश्वविद्यालयले अत्याधुनिक प्रयोगशालाबाट सस्तो दरमा निर्माण सामग्रीको गुणस्तर परीक्षण सेवा सञ्चालन गरे पनि यसको व्यावसायिक उपयोग हुन सकेको छैन ।

गुणस्तरीय परीक्षणको अभावमा एकातिर बलियो र सुरक्षित घर बनाउने आम नागरिकको चाहना पूरा हुन सकेको छैन भने अर्कोतर्फ परीक्षणबारे सचेत व्यक्ति तथा निर्माण व्यवसायीहरू पनि महँगो शुल्क तिरेर निजी प्रयोगशालामा धाउन बाध्य छन् ।

विश्वविद्यालयको ‘मेटेरियल टेस्टिङ ल्याब’ले सरकारी दररेटमै रड, सिमेन्ट, गिटी र बालुवा जस्ता अत्यावश्यक निर्माण सामग्रीको गुणस्तर जाँच गरी आधिकारिक प्रतिवेदन दिने गरेको छ । तर, निर्माण सामग्रीको परीक्षण गर्नुपर्छ भन्ने चेतनाको अभाव र विश्वविद्यालयको यो सेवाबारे जानकारी नहुँदा धेरैले असुरक्षित र कमसल सामग्री प्रयोग गरिरहेका छन् । विश्वविद्यालयले संस्थागत रूपमा सेवा दिँदै वार्षिक ३० देखि ४० लाख रुपैयाँ आम्दानी गरिरहेको छ, तर आम सर्वसाधारणसम्म यो सेवा पुग्न सकेको छैन ।

ल्याबका संयोजक सिभिल इन्जिनियर सन्दिप दहालका अनुसार, विश्वविद्यालयसँग आधुनिक र विश्वसनीय उपकरण भए पनि यसको पूर्ण व्यावसायिक सदुपयोग हुन सकेको छैन । उनी भन्छन्, “हाम्रो ल्याबले कम शुल्कमा गुणस्तरीय सेवा दिन्छ, तर धेरैलाई यसबारे थाहा छैन । जसले गर्दा व्यक्ति र संस्थाहरूले गुणस्तरहीन सामग्री प्रयोग गरेर जोखिमपूर्ण संरचना निर्माण गर्नुपर्ने अवस्था छ ।” स्थापनाको चार वर्षमा ल्याबले संस्थागत परीक्षणबाटै एक करोड रुपैयाँभन्दा बढी आम्दानी गरिसकेको छ, जसले यसको क्षमता र विश्वसनीयतालाई प्रमाणित गर्छ ।

अब विश्वविद्यालयले यो सेवालाई आम नागरिकसम्म पुर्याउने योजना बनाएको छ । उपकुलपति डा. सुवासश्री पोखरेलका अनुसार, संस्थागत परीक्षणमा मात्र सीमित नभई अब सर्वसाधारणका लागि पनि यो सेवालाई व्यावसायिक रूपमा विस्तार गरिनेछ । उनले भने, “हामीले अब सर्वसाधारणका लागि पनि ल्याबलाई पूर्ण रूपमा खुला गर्ने तयारी गरेका छौं। कुनै पनि व्यक्तिले आफ्नो घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्री करिब १० हजार रुपैयाँमै परीक्षण गराउन सक्छन् ।”

यसले एकातिर नागरिकलाई सस्तो शुल्कमा गुणस्तरीय र सुरक्षित घर बनाउन मद्दत गर्नेछ भने अर्कोतिर विश्वविद्यालयको आन्तरिक आयस्रोतलाई पनि बलियो बनाउन सहयोग पुग्ने देखिन्छ ।